• १२ साउन २०८१, शनिबार

प्रमको न्युयोर्क भ्रमणको अन्तिम तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २२ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न संयुक्त राष्ट्रसङ्घको महासभाका लागि हुने भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताउनुभएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भ्रमणबारे बिहीबार जानकारी गराउँदै संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा प्रधानमन्त्री ‘प्रचण्ड’ को नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको सहभागिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो । 

सङ्घको महासभा मङ्गलबारदेखि सुरु भइसकेको छ । महासभाको उच्चस्तरीय सत्र असोज १ गतेदेखि ९ गतेसम्म चल्ने छ । सो सत्रमा सहभागिता जनाउँदै नेपालको धारणा प्रस्तुत गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ सहितको नेपाली प्रतिनिधिमण्डल भदौ ३० गते न्युयोर्क प्रस्थान गर्ने कार्यव्रmम छ । भदौ ३० देखि असोज ४ गतेसम्म प्रधानमन्त्रीसहितको भ्रमण टोली त्यहाँ रहने छ । 

कार्यसूची तय 

प्रधानमन्त्रीको भ्रमणको समग्र कार्यसूची तय भएको परराष्ट्रमन्त्री साउदले जानकारी गराउनुभयो । महासभा अन्तर्गत विश्वव्यापी सहकार्य र विश्वासको पुनस्र्थापनाको एजेन्डा र दिगो विकासको लक्ष्यमा सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनाको तीव्र कार्यान्वयनलगायतका विषयमा छलफल आयोजना गरिएको छ । उच्चस्तरीय छलफलका लागि दूरगामी महत्त्व राख्ने दिगो विकास लक्ष्य, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीलगायतका सवालमा प्रधानमन्त्री ‘प्रचण्ड’ लगायत विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने मन्त्री साउदले समितिलाई जानकारी गराउनुभयो । 

परराष्ट्रमन्त्री साउदसँगै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेललगायत नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि, न्युयोर्कस्थित महावाणिज्य दूतावासका पदाधिकारीलगायत रहने बताउनुभयो । 

जलवायु सम्मेलनमा नेपालको तयारी

त्यस्तै महासभामा दिगो विकास लक्ष्य, महत्वाकाङ्क्षी जलवायु शिखर सम्मेलनमा पनि प्रधानमन्त्री ‘प्रचण्ड’ सहितको प्रतिनिधमण्डलले उच्चस्तरीय सहभागिता जनाउने छ । सो सम्मेलनमा प्रधानमन्त्रीले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर, जलवायु वित्तकोष, हानिनोक्सानीको क्षतिपूर्तिका विषयमा नेपालका तर्फबाट बलियो पक्षपोषणसहितको सम्बोधन गर्नुहुने छ । यीबाहेक अन्य उच्चस्तरीय समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्री साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख, राष्ट्रसङ्घीय उच्चाधिकारी सामेल वैश्विक मञ्चमा नेपाल सरकारका विकास प्राथमिकता, प्रमुख उपलब्धि तथा चुनौती प्रस्तुत गर्ने अवसर प्राप्त हुने छ ।” 

अमेरिकाका राष्ट्रपतिसँग भेट हुने

महासभाको अवसर पारेर संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने उच्चस्तरीय भोजमा प्रधानमन्त्री प्रचण्डले सहभागिता जनाउनुहुने छ । सो अवसरमा राष्ट्रपति बाइडेनसँग भेट गर्नुहुने कार्यव्रmम छ । अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यस पटक उक्त समूहको अध्यक्षको हैसियतमा सभाको सत्रगत बैठक सञ्चालन गर्ने अवसर पाएको पनि मन्त्री साउदले जानकारी गराउनुभयो ।

लगत्तै चीन भ्रमणमा

संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रमा सहभागिता जनाएलगत्तै असोज ५ गते प्रधानमन्त्री प्रचण्ड छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

त्यस व्रmममा वार्षिक रूपमा आयोजना हुुँदै आएको जी–७७ र चाइनाको शिखर सम्मेलनमा उच्चस्तरीय सहभागिता जनाउने कार्यव्रmम छ । सो सम्मेलनमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहने समितिलाई मन्त्री साउदले जानकारी गराउनुभयो । साउदले भ्रमणको एजेन्डाका सम्बन्धमा दुई पक्षबिच छलफल चलिरहेको पनि बताउनुभयो । उहाँले भ्रमणका क्रममा ठुलो सूची बोकेर जाने भन्दा पनि कार्यान्वयनयोग्य परियोजना र मुद्दालाई अगाडि बढाउने प्रस्ताव लिएर जाने जानकारी दिनुभयो ।

उहाँका अनुसार चीन सरकारले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । मन्त्री साउदले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेन्डा बनाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । यस्तै कोभिडका कारण नियमित हुन नसकेका व्यापार नाका र परम्परागत सीमानाका खोल्ने विषयमा पनि छलफल चलिरहेको उहाँले प्रस्ट्याउनुभयो ।