गोकुल भुजेल
भोजपुर, कात्तिक ४ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ का ४० वर्षीय सचिन राईलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीको टोलीले राईलाई गए राति बेलुका साढे ८ बजे मध्यपहाडि लोकमार्गस्थित हर्कटे सामुदायिक वनको आम्लाला टोलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट बारुद लोड गरेको भरुवा बन्दुक १ थान, दापसहितको खुकुरी १ थान, प्लास्टिकको झोलाभित्र धातुको छर्रा ९ वटा, धातुको सानो छर्रा ३८ थान, बारुदजस्तो कालो धुलो १६० ग्राम, सलाई २ बट्टा र निलो प्लास्टिकको टुक्रामा पोको बाँधेको केप ४ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जङ्गलमा रहेको भेडा गोठका भेडाहरू जङ्गली जनावरले मार्न थालेपछि आफूले भेडा र आफ्नो सुरक्षाका लागि भरुवा बन्दुक बोकेर हिँडेको प्रारम्भिक अनुसन्धान तथा सोधपुछको क्रममा राईले प्रहरीलाई बताएको समेत सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको छ ।