अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ २१ गते । भदौ महिनाभर स्याउ टिप्न नपाइने भनेर गरिएको निर्णय कार्यान्वयन नभएको भन्दै घरपझोङ गाउँपालिकाले २५ केजी स्याउ जफत गरेको छ ।
बिहीबार घरपझोङ गाउँपालिकाले सदरमुकाम जोमसोममा बजार अनुगमन गरी कोसेली हाउसमा बिक्रीका लागि राखेको स्याउ जफत गरेको हो । प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यका अनुसार गाउँपालिकाले जोमसोम क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा २ केजी दरले प्लाष्टिकमा प्याक गरिएको १० प्याकेट र १ केजीका पाँच प्याकेट स्याउ नियन्त्रणमा लिइएको हो ।
उहाँले भन्नुभयो, ‘जिल्ला समन्वय समितिको आयोजनामा आयोजित अन्तरपालिका समन्वय बैठकले मुस्ताङको स्याउलाई असोज १ अगावै टिप्न नपाइने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न अनुगमनका क्रममा स्याउ जफत गरिएको हो ।’
अन्तरपालिका बैठकमा स्याउ चाँडै टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौ महिनासम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजार पठाउने निर्णय भएको थियो । जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीका अनुसार स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान यथावत राख्ने उद्देश्यले असोज १ गतेपछि मात्र स्याउ टिप्न मुस्ताङका पाँच वटै स्थानीय तहका अध्यक्षहरुले प्रतिबद्धता जनाएका हुन् ।
अध्यक्षहरुले आ–आफ्नो स्थानीयतहका किसानलाई स्याउ असोज लागेपछि मात्रै टिप्न अनुरोध गरिएको थकालीको भनाइ छ । घरपझोङ गाउँपालिकाले पनि आफ्नो पालिकाभित्र स्याउ टिपियोकि टिपिएन भनेर अनुगमन गर्दा निर्णय भएको मितिभन्दा अगाबै स्याउ टिपेर बेच्न राखेको पाइएकाले जफत गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।
मुस्ताङमा पछिल्ला दिनमा इटालीयन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो । मुस्ताङमा उच्च घनत्वका स्याउका एक लाख ६७ हजार बिरुवा आइसकेको उहाँको भनाइ छ ।
रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउ खेती हुँदैआइरहेको छ । त्यस्तै नयाँ जातका अर्थात् उच्च घनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका विरुवा लगाइएको छ ।
गत बर्षको तुलनामा यस बर्ष स्याउको उत्पादनमा करिव ४०–५० प्रतिशतले कमी आउने शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।