काठमाडौं, भदौ २१ गते । साबिक विजेता स्पेनिस स्टार कार्लोस अल्कारेज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
बिहीबार बिहान भएको खेलमा अल्कारेजले जर्मनका अलेक्सजेन्डर ज्वेरेभलाई ३–० को सोझो सेटमा हराउनुभयो । अल्कारेजले अलेक्सजेन्डरमाथि ६–३, ६–२, ६–४ को जित निकाल्नुभयो । सेमिफाइनलमा अल्कारेजले रसियन स्टार डानियल मेदभेदेवसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
मेदभेदेवले क्वार्टरफाइनलमा आफ्नै देशका आन्द्रे रुबलभलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाउनुभएको हो । उहाँले ६–४, ६–३, ६–४ को जित निकाल्नुभएको थियो । अर्को सेमिफाइनलमा सर्वियाका स्टार नोभाक जोकोभिच र अमेरिकाका बेन सेल्टनबिच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी महिलातर्फ बेलारुसकी स्टार अर्याना साबालेन्का सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । बिहीबार बिहान भएको खेलमा साबालेन्काले चीनकी किनवेन झेङलाई २–० को सोझो सेटमा हराउनुभयो । उहाँले ६–१, ६–४ को जित निकाल्नुभयो ।
साबालेन्काले सेमिफाइनलमा अमेरिकी स्टार म्याडिसन किजसँग प्रतिस्पर्धा गर्नुहुनेछ । किजले चेक गणतन्त्रककी मार्केटा भोनड्राउसोवालाई ६–१, ६–४ ले हराउँदै अन्तिम चारमा स्थान बनाउनुभएको हो । अर्को सेमिफाइनलमा अमेरिकाकी कोको गौफले चेक गणतन्त्रकी कारोलिना मुचोवासँग प्रतिस्पर्धा गर्नुहुनेछ । एजेन्सी