• ११ मंसिर २०८१, मङ्गलबार

तीज गीत प्रतियोगिता हुने

blog

फाइल तस्विर ।

रमेश विश्वकर्मा

गुल्मी, भदौ २० गते । गुल्मीको एक सहकारीले महिलाहरूलाई सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा जिल्लाको सदरमुकाम तम्घासमा अवस्थित जिल्लाकै सबैभन्दा ठुलो लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो । 

रेसुङ्गा नगरपालिका–१ मा अवस्थित यस सहकारीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत हिन्दु संस्कृतिको संरक्षण र संवर्द्धन गरी महिलाहरूलाई थप सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिताको आयोजना गर्न लागिएको संस्थाका व्यवस्थापक कल्पना बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा यस सहकारीको कार्यक्षेत्र रेसुङ्गा नगरपालिकाभित्रका सहकारी, सङ्घ-संस्था र आमा समूह सहभागी बन्ने सक्ने गरी तयारी थालिएको उहाँले बताउनुभयो । प्रतियोगितालाई रचनात्मक र सन्देशपूर्ण बनाउन “सहकारीको विकासमा महिला सहभागिता” विषयमा प्रस्तुति राख्न सकिने समेत व्यवस्थापक बस्नेतले जानकारी दिनुभयो । उहाँले सहकारीले महिलाहरूको आर्थिक उपार्जन तथा विभिन्न पेसा व्यवसाय सञ्चालनमा पुर्‍याएको सहयोगलाई आफ्नो प्रस्तुतिमा समावेश गरी सन्देशपूर्ण र रचनात्मक बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । सदरमुकाम तम्घासको बालमन्दिरमा भदौ २३ गते आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट प्रतियोगी समूहलाई आर्थिक रूपमा पुरस्कृत समेत गरिने संस्थाका अध्यक्ष गोपाल पन्थीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १२ हजार रुपियाँ, द्वितीय हुने समूहलाई नगद ८ हजार रुपियाँ, तृतीय हुने समूहलाई नगद ५ हजार रुपियाँ प्रमाणपत्र तथा प्रोत्साहन पुरस्कार स्वरूप ३ हजार रुपियाँ पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ ।