असोज कात्तिकबाट जोडी बाँधी गुँड बनाउन सुरु गर्ने गिद्धले करिब दुई महिनाको ओथारोपछि पुस माघमा बच्चा (बचेरा) कोरल्छन् । बच्चा कोरलेको करिब तीन महिनापछि गुँड छाडेर उड्न सक्ने हुन्छन् ।
सन्धिखर्कबाट करिब २० किलोमिटर उत्तरतिरको कच्ची बाटो पार गरेपछि गुल्मी सिमानानिरको घेराभिर पुगिन्छ । करिब दुई हजार चार सय मिटरको उचाइको डरलाग्दा काला चट्टानी घेराभिरमा सेता सेता लेद्रा प्रशस्तै देखिन्छन् । घेराभिरलाई लामो समयदेखि बसोबास स्थल बनाउँदै आएका दुर्लभ गिद्धले त्यही भिरमा लगाएका ३७ गुँडबाट पखेटा फड्कार्दै उड्ने तरखरमा छन्, गिद्धका बचेरा ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको घेराभिरमा हिमाली गिद्धका ३५, हाडफोर गिद्ध र सेतो गिद्धका एक/एक वटा गुँड अभिलेख भएको छ । घेराभिरमा गरिएको गणनामा हिमाली गिद्ध ८६, हाडफोर गिद्ध तीन र सेतो गिद्ध नौ सङ्ख्यामा अभिलेख गरिएको छ ।
घेराभिरमा उच्च पहाडदेखि हिमाली भेगमा बस्ने सङ्कटनजिक रहेका हिमाली गिद्ध, हाडफोर गिद्ध र मध्यपहाडमा बस्ने विश्वमै दुर्लभ सङ्कटापन्न सेतो गिद्धको वासस्थान छ । यतिबेला घेराभिरमा गिद्धले आफ्ना बँचेरा हुर्काउँदै छन् । अर्घाखाँची जिल्लाका अर्घा, धारापानी, पकले, नरपानी, डिभर्नाका पहरामा सङ्कटापन्न सेतो गिद्धले गुँड बनाएर यतिबेला बचेरा हुर्काइरहेका छन् ।
विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्ध र सुन गिद्धले अर्घा र छत्रदेवका सल्लेरी जङ्गलमा गुँड बनाएर बचेरा उडाइसकेका छन् । पाँच थरी गिद्ध सधैँभरि बस्ने रैथाने भए पनि समय समयमा सानो खैरे गिद्ध, खैरो गिद्ध र राज गिद्ध पनि बसाइसराइँ गरेर घेराभिर क्षेत्रमा आउने जाने गर्छन् ।
असोज कात्तिकबाट जोडी बाँधी गुँड बनाउन सुरु गर्ने गिद्धले करिब दुई महिनाको ओथारोपछि पुस माघमा बच्चा (बचेरा) कोरल्छन् । बच्चा कोरलेको करिब तीन महिनापछि गुँड छाडेर उड्न सक्ने हुन्छन् । पहरामा गुँड बनाउने तीन प्रजातिले घेराभिरको एकै ठाउँमा गुँड बनाएका छन् । त्यसैले पनि घेराभिर चराप्रेमीका लागि महìवपूर्ण गन्तव्य क्षेत्र बनेको छ । यसरी तीन प्रजातिका गिद्धले एउटै पहरामा गुँड बनाएको संसारमै अति विरलै अवस्था हो । नेपालमा हालसम्मको अभिलेख अनुसार घेराभिर मात्र एउटा त्यस्तो क्षेत्र हो, जहाँ तीन प्रजातिका गिद्धका गुँड छन् ।
घेराभिरका गुँडबाट गिद्ध आहारा खोज्न बिहान सबेरै फुत्त फुत्त निस्कन्छन् । गुँड छाड्न ठिक्क परेका बचेरा पनि गुँडको डिलमा आएर पखेटा फटफटाउँदै माउलाई हेरिरहेका हुन्छन् । आकाशमा कावा खाँदै माउ गिद्ध चाहिँ सिकारका लागि उडान भरिरहेका हुन्छन् । आलोपालो माउले आहारा ल्याएर बचेरालाई खुवाउँदै गरेका र बचेरालाई उड्न सिकाउँदै गरेका दृश्य अत्यन्तै आकर्षक र रोचक देखिन्छन् । घेराभिरका गिद्ध र तिनका बचेराका यी दृश्य सुरक्षित गर्न फोटोग्राफर पनि घेराभिरका घेराभित्र आक्कलझुक्कल पुगिरहन्छन् । एक सय मिटरको दुरीबाट घेराभिरका गिद्धका गुँडको फोटो खिच्न सकिन्छ । घेराभिरमा गुँड मात्र होइन त्यसमाथिको आकाशमा दर्जनौँ गिद्ध एकैसाथ वेग मारिरहेको सुन्दर दृश्य पनि देख्न पाइन्छ । वन्यजन्तु फोटोग्राफर चुङ्बा शेर्पा, पेम्बा शेर्पा, मनोज पौडेललगायत धेरैले घेराभिर क्षेत्रमा पुगेर गिद्ध र चिरकालिजका गत वर्ष उत्कृष्ट फोटो तथा भिडियो खिच्नुभएको थियो । गिद्धमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता हेमन्त ढकाल र देउबहादुर राना पनि बेला बेला घेराभिर पुगिरहनुहुन्छ । नेपाल पन्छी संरक्षण सङ्घले त्यस क्षेत्रमा गिद्धलगायत अन्य चरा र तिनको वासस्थानको अनुगमन र संरक्षणका काम गरिरहेको छ ।
घेराभिर र समग्र अर्घाखाँची जिल्लामा १६ वर्षदेखि गिद्ध र अन्य पन्छीको अध्ययन, अनुसन्धान र अनुगमन गरिरहेको छु । वर्षमा कम्तीमा तीन पटक म घेराभिर पुगेकै हुन्छु तर हरेक पटक त्यहाँ पुग्दा केही फरक भएकै पाइन्छ, जसले मलाई उत्साहित बनाउँछ । खासगरी गिद्धका प्रजनन गतिविधि चिरकालिज जस्ता दुर्लभ चराले सधैँ आकर्षित गरिरहन्छन् ।
बर्ड लाइफ इन्टरनेसनल र नेपाल पन्छी संरक्षण सङ्घले दुर्लभ गिद्ध र चिरकालिजको वासस्थान भएकाले घेराभिर र त्यस आसपासको भूभागलाई समेटी चरा तथा जैविक विविधता क्षेत्र घोषणा गरेको छ । यस क्षेत्रबाट हालसम्म २३९ प्रजातिका चरा अभिलेख गरिएको छ । अन्यत्र लोप हुँदै गएका दुर्लभ गिद्ध, तिनको गुँड र प्रजनन गतिविधिको अवलोकन, अनुसन्धान र फोटोग्राफीका लागि घेराभिर एक उत्तम स्थान हो । घेराभिरको शिरमा रहेको मालारानी मन्दिरबाट अर्घाखाँची, गुल्मी र प्युठानका तरेली परेका पहाड, सम्म फाँट र धौलागिरि, अन्नपूर्ण र मनासलुको सुन्दर हिमशृङ्खला पनि देखिन्छ । चैत वैशाखको याममा यहाँ ढकमक्क लालीगुँरास फुलेका हुन्छन् ।
यस क्षेत्रमा पर्यापर्यटनको प्रचुर सम्भावना देखिन्छ । दुर्लभ गिद्ध, चिरकालिज र यहाँको प्राकृतिक सौन्दर्यको प्रवर्धनले पर्यटनको सम्भावना खोल्न सक्छ । रुपन्देहीको सालझन्डीदेखि बागलुङको ढोरपाटन जोड्ने ‘ढोरपाटन राजमार्ग’ मा पर्ने घेराभिरबाट करिब दुई किलोमिटरको दुरीमा रतनमारे वा खनदह बजार छ । जहाँ खान बस्नका लागि होटेल सुविधा पनि छ ।
नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध अर्घाखाँची जिल्लामा अभिलेख भएका छन् । गुँड बनाएर बच्चा कोरल्ने छ प्रजातिका आवासीय गिद्धमध्ये पाँच प्रजातिका गुँड अर्घाखाँचीमा पाइएका छन् । विशेषतः घेराभिर लोपोन्मुख गिद्धको वासस्थान बनेको छ । गिद्धका अलावा नेपाल सरकारद्वारा संरक्षित पन्छीको सूचीमा राखेको विश्वमै दुर्लभ चिरकालिज पनि पाइने घेराभिर सुन्दर भूदृश्य अवलोकनका लागि पनि प्रख्यात छ । काठमाडौँबाट करिब ३७० किलोमिटर दुरीमा रहेको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क एकै दिनमा पुग्न सकिन्छ ।
तीन दशकअघि सजिलै पाइने र ठुलो बथानमा देख्न सकिने चरामा गिद्ध पर्थे । त्यतिबेला सिनो लुछाचुँडी गरिरहेका गिद्धका झुन्ड सहजै भेटिन्थे । मानवबस्ती वरपर खुला ठाउँमा बस्ने गिद्धका गुँड पनि सजिलैसँग देख्न सकिन्थ्यो । मृत जनावर खाएर वातावरण शुद्धीकरण गर्ने भएकाले गिद्धलाई ‘प्रकृतिको कुचिकार’ पनि भनिन्छ । यत्रतत्र सर्वत्र पाइने गिद्धका बारेमा त्यस समय कसैको चासो थिएन । तथापि विक्रम संवत् २०५० को दशकमा संसारमा सबैभन्दा तस्व्र गतिमा गिद्ध घटेर लोप हुने अवस्थामा पुगेका चराको प्रजाति बन्न पुग्यो । यसका मुख्य कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक हो । गाई, भैँसी, घोडा, खच्चड, बाख्रा, सुँगुर जस्ता पशुमा सुन्निएको, ज्वरो आएको र दुःखेको निको पार्न व्यापक रूपमा प्रयोग गरिने यस औषधीले पशुचौपायालाई निको पारे पनि उपचारपछि पशु मरेमा तिनको सिनो खाने गिद्ध भकाभक मरे । गिद्धले समूहमा खाने हुँदा डाइक्लोफेनेकले उपचार गरी मरेको पशुको एउटै सिनोबाट पनि ठुलो सङ्ख्यामा गिद्ध मर्न पुगे । परिणामतः पछिल्ला दशकमा गिद्ध अति विरलै भएका छन् । अझ तिनको गुँड त देख्नै मुस्किल छ । त्यसैले पखेटा फड्कार्दै उड्ने तरखरका बचेरा नियाल्न जाने कि–घेराभिर ।