• ७ असार २०८२, शनिबार

बुद्धभूमिमा योगाभ्यास

blog

भैरहवा समाचारदाता

भैरहवा, असार ७ गते । अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर लुम्बिनीमा एकदिवसीय योग कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि भारतीय राजदूतावासको आयोजनामा योग दिवसको पूर्वसन्ध्यामा शुव्रmबार योगाभ्यास भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुद्ध जन्मस्थल लुम्बिनी, सगरमाथा र बहुल जातजाति तथा विविधताका कारण नेपाल विश्वभर चिनिएको बताउनुभयो । उहाँले भारतीय दूतावासले नेपालमा विभिन्न तरिकाले सहयोग गर्दै आएकोमा स्वास्थ्यका लागि योग जनचेतनामूलक कार्यक्रमले नेपालीको स्वास्थ्य अझै सुदृढ बनाउने बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले योग गर्ने व्यक्ति स्वस्थ हुँदै गइरहेको बताउनुभयो । उहाँले भारतीय दूतावासले योगाभ्यासका लागि लुम्बिनीको चयन गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले बुद्धले शान्ति, करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानवजीवनमा योग र ध्यानको महìवबारे प्रकाश पार्नुभएको बताउनुभयो । 

मन्त्री चौधरीले भन्नुभयो, “यो केवल शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको एक महत्वपूर्ण प्रणाली हो ।”

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रत्येक वर्ष लुम्बिनीमा योग दिवस मनाउँदै आएको जानकारी दिनुभयो । उहाँले यस पटकसमेत गरी लुम्बिनीमा यो चौथो पटक दिवस मनाइएको र यसलाई दूतावासले प्रत्येक वर्ष मनाउने बताउनुभयो ।

उहाँले सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरे अनुसार योग दिवस मनाउँदै आएको बताउनुभयो । नेपाल र भारतमा योग प्राचीनकालदेखि नै गरिँदै आएको बताउँदै उहाँले यो दुवै देशको साझा संस्कृतिको अङ्ग रहेको बताउनुभयो । भारतको प्रयास स्वरूप नै अहिले लुम्बिनीमा भारतीय पर्यटकको आगमन गत वर्षभन्दा बढ्दै गएको उहाँको भनाइ थियो ।