• १० मंसिर २०८१, सोमबार

मनका भाष्य

blog

मन र मस्तिष्कबाट नै हरेक मानिसको स्वभाव, कर्म र जीवनशैली निर्देशित हुन्छ । मनले खराब विचार, असल विचार के गर्ने हो, त्यसका लागि मस्तिष्कलाई घच्घच्याउँछ । विज्ञान र अध्यात्म दुवैले विविध प्रकारका मनको चर्चा गरेका छन् । विज्ञानले चेतन, अचेतन, अर्धचेतन मनको चर्चा गरेको छ । 

शास्त्र अर्थात् अध्यात्मले पनि विविध प्रकारका मनको चर्चा गरेको छ । पूर्वीय शास्त्रले मनलाई उच्च प्राथमिकता दिएको छ । मनको सक्रियताबिना मानव चल्नै नसक्ने बताएको छ । हुन पनि मनलाई मुटुसँग जोडेर हेर्ने हो भने मुटु नचले मानिस पनि चल्दैन । मानिसको शरीर एउटा मुढो बराबर हुन्छ ।

कुनै सूक्ष्मदर्शक यन्त्रले पनि नदेख्ने अदृश्य मनको अपार शक्ति छ । मानिसलाई प्रेरित गर्ने, आकाङ्क्षी बनाउने, दुःखी बनाउने, सुखी बनाउने, चिन्तित बनाउने सबै मनको खेल हो । मनमा उत्पन्न भाव नै मस्तिष्कमा पुगेर व्यवहारमा प्रकट हुन्छ । 

सबैले मान्ने कुरा के हो भने मानिसमा फरक प्रवृत्ति, स्वभाव र क्षमता हुन्छ । त्यसलाई कसैले बदल्नै सक्दैन र उसको मन वा आत्मा पनि सोही अनुसार विकसित भएको हुन्छ । मानिसमा कस्तो मन छ भन्ने उसको व्यवहारले प्रकट गर्दछ ।

अध्यात्मले मनभन्दा माथि आत्मा रहेको स्वीकारेको छ । आत्माबाट आदेश पाएर मनले प्रेरणा दिने र त्यही प्रेरणाबाट इन्द्रियहरूले आफ्नो आवश्यकता अनुसारका विषयसँग सम्पर्क राख्छन् भन्ने मान्यता राख्छ । अध्यात्मले दैव मन, यक्ष मन, धृति मन, प्रज्ञान मन, सारथि मन, दुस्मन, दोमन आदि भनेर सविस्तार वर्णन गरेको छ । 

संसारमा मानिसको शारीरिक बनावट, रूपरङ फरक भए पनि आकृति उस्तै हुन्छ । त्यस्तै पशुपन्छीहरूमा पनि त्यही कुरा लागु हुन्छ । झन्डै सात अर्ब मानिस रहेको पृथ्वीमा एकै प्रकारका मन भएका व्यक्तिहरू कमै मात्र भेटिन्छन् । सबैमा एउटै मन, एउटै विचार हुन्थ्यो भने पृथ्वीमा शान्ति नै शान्ति हुन्थ्यो तर यो सम्भव छैन । अहिले मात्र होइन, वैदिककालमै पनि त्यो असम्भव थियो । त्यसैले शास्त्रले विविध प्रकारका मनको चर्चा ग¥यो, जसको सङ्क्षिप्त चर्चा यहाँ गरिन्छ :

दैव मन

दैव मन मानवता, शान्ति, स्थिरता, विकास, भाइचाराको भावनासँग जोडिएको हुन्छ । सिङ्गो पृथ्वीको शान्ति, स्थिरता, विकासका लागि मानवमा दैव मन हुनु पर्दछ भनेर उच्च प्राथमिकता दिइएको छ । पृथ्वी र पृथ्वीवासी (प्रकृतिमा रहेका मानव, जीवजन्तु, सरिसृप, नदी, हिमाल, पहाड) सबैलाई यथास्थानमा अनुशासित राख्न प्रेरित गर्ने मन दैव मन हो । 

दैव मनले ज्ञानेन्द्रियमाथि पूर्ण अधिकार कायम गर्छ । सबै इन्द्रिय यही अधिकार क्षेत्रभित्र रहन्छन् र काम गर्छन् । मन आत्माको निकट पनि छ, जड छ । इन्द्रियहरू मनभन्दा धेरै स्थुल हुन्छन् । प्राणतन्तुले मनमार्फत जे जता गति दिन्छ, तत्काल ग्रहण गर्छ र तदनुरूप कर्ममा प्रवृत्त हुन्छन् तर पनि हामीले मनले नचाहेका धेरै कुरा देख्नु पर्छ, सुन्नु पर्छ, भोग्नु पर्छ र व्यवहारमा उतार्नु पनि पर्छ । 

तर त्यसलाई कसरी आत्मसात् गर्ने भन्ने त्यो व्यक्तिको आत्मा र मनमा निर्भर रहन्छ । मनले नचिताएको कुरा अकस्मात् आउँदा उत्पन्न हुने भावलाई नियन्त्रण गर्न सक्ने क्षमता दैव मन भएकाहरूमा मात्र हुन्छ । मनले चट्याङ परोस् चिताउँदैन, बाढी, पहिरो आओस् भनेर पनि चिताउँदैन तर नचिताए पनि त्यस्ता विपत्ति आइपर्छन् र त्यसलाई सहन सक्ने क्षमता दैव मनमा हुन्छ । 

यक्ष मन 

कर्मेन्द्रियको अधिष्ठाता यक्ष मन हो । त्यसै कारण कर्मेन्द्रियद्वारा हुने समस्त कार्य उसैका नियन्त्रणमा हुन्छन् । दैव मन र यसका अधीनस्थ इन्द्रिय सìवगुण प्रधान भए जस्तै यक्ष मन र यसका अधीनस्थ कर्मेन्द्रिय रजोगुणप्रधान हुन्छन् । इच्छा शक्तिको बलमा यक्ष मनले कर्मेन्द्रियलाई आ–आफ्नो काममा प्रवीण र प्रवृत्त गराउँछ । कर्मनिष्ठ, विद्वान्, बुद्धिमान्द्वारा कर्म यज्ञका जे जति अनुष्ठान गरिन्छन्, ती सबै यक्ष मनकै कारण हुन् । 

धृति मन

धारण गर्ने र अदृश्य रहेर कार्य गर्ने मनलाई धृति मन भनिन्छ । यो मन भएका मानिसहरू हाम्रो समाजमा धेरै नै भेटिन्छन् । धृति मन भएकाहरू आफूलाई चर्चामा ल्याउन चाहँदैनन् । आफ्नो कर्म निरन्तर गरिरहन्छन् तर यो काम गर्दा आफ्ना सहायक इन्द्रियसहित मन, बुद्धि, चित्त सबै तमोगुणबाट अभिभूत हुन्छन् । 

धृति मनले जुन पदार्थलाई एकपल्ट ग्रहण गर्छ, उसलाई होसियारीपूर्वक सम्हालेर राख्छ । आवश्यकता बोध हुनासाथ बोधकर्ताकहाँ तुरुन्त फर्काइदिने अभ्यास, स्वभाव वा बानी हुन्छ । धृति मन आफ्नै भित्री अवयवमा प्रवाहित भावना–तरङ्गका आधार र कारणमा निश्चित समयमा आफ्नो काम सम्पन्न गर्न अभ्यस्त छ । 

धृति मनलाई आत्माले केही स्थायी निर्देश दिइराखेको हुनाले यो मनले त्यो निर्दिष्ट कार्य आत्मालाई थाहा नदिईकनै सम्पन्न गर्छ । जसरी कुनै व्यक्ति खुट्टा हल्लाइरहन्छ, नाक कोट्याइरहन्छ वा केही न केही वस्तु, सिन्कालगायत मुखमा हाली चपाइरहन्छ तर उसलाई यो ज्ञात हुँदैन कि यस्ता कर्म उसले कुनै होसमा गरेको हुँदैन । त्यसैले के गर्दै छु भन्ने कुरा थाहा नै हुँदैन । बेहोसमै सबै हरकत ऊ गर्न विवश हुन्छ ।

प्रज्ञान मन

मनको अर्को प्रकार हो प्रज्ञान । यो मन भएकाहरू दैव मनद्वारा प्राप्त सूचनाका आधारमा ज्ञानेन्द्रिय सक्रिय बनाउँदै तत्काल निर्णय दिने बुद्धिले नै यक्ष मनद्वारा कर्मेन्द्रियलाई पनि सक्रिय बनाउँछ । कार्यमा प्रवृत्त भइहाल्न आदेश दिन्छ । सबै सामग्री मस्तिष्कहरूलाई सुम्पेर त्यसमा युक्ति तथा प्रमाण भिडाएर तर्क–वितर्क जे जति गर्नु पर्छ गरेर निश्चयात्मक फैसला गर्ने अवस्थामा पु¥याउनु बुद्धिको काम हो र यही बुद्धिलाई प्रज्ञान मन भनिन्छ । 

जति गम्भीर समस्या छ, त्यति नै विषयगत अन्य शोधखोज गर्न परे गर्दै ज्ञातव्य हुनका लागि बुद्धिले दैव मनलाई अझ एकाग्र भएर सम्बन्धित विषयमा अपेक्षित अन्य अतिरिक्त जानकारी प्राप्त गर्न प्रेरित गर्छ । आवश्यकता अनुसार दैव मन, यक्ष मनबाट पनि लिनुपर्ने जति काम लिन्छ । यसैलाई प्रज्ञान मन भनिन्छ ।

सारथि मन

मनको चतु-याइँलाई सारथि मन भनिएको छ । कुशल सारथिले रथमा नारिएका घोडालाई लगाम कसेर जता दौडाउन चाहन्छ, त्यतै सजिलैसँग हाँक्छ । एकएक कदम होसियारीपूर्वक उठाउँदै मनरूपी सारथिले आवश्यक पर्दा घोडारूपी इन्द्रियलाई लगाम कस्छ । सारथि मनले आफ्नो इच्छानुसार शक्ति प्रयोग गर्ने साहस प्रदर्शित गर्छ । 

मन सर्वाधिक बेगवान छ । भौतिक संसारमा प्रकाशको गति सबभन्दा तीव्र मानिएको छ । एक सेकेन्डमै एक 

लाख ८६ हजार माइल ! यस्तो गणितीय भाषामा मनको गतिको नाप लिन सकिँदैन, मन त निमेषमा नै कहाँ पुगिसक्छ कहाँ । मन कहिल्यै बुढो हुँदैन, जीर्ण पनि हुँदैन भनिन्छ । यस्तो तृष्णालाई नियन्त्रित गरेर लगाम कस्नु नै सारथि मन भनिन्छ ।

त्रिकालज्ञ मन

असीमित आत्मबलको प्रेरणाले दैव मन, यक्ष मन, धृति मन, प्रज्ञान मनले संयुक्त भएको सबल मन ‘त्रिकालज्ञ’ हो । ‘त्रिकालज्ञान साधनम्’ को उक्ति अनुसार मन भूत, भविष्य र वर्तमानका सबै पदार्थ ग्रहण गर्ने शक्तिवाला हो तर यो जड छ र यसमा त्यो परम् ज्ञान छैन । 

अध्ययन, सङ्गत, भोगाइबाट प्राप्त ज्ञानका आधारमा व्यक्तिले भावी योजना तर्जुमा गर्छ । जुन तìव शरीरमा प्रधान हुन्छ, त्यही तìव मनमा पनि प्रधान रूपमा विद्यमान रहन्छ । सपनामा त्यसैको प्रभाव अवश्यम्भावी हुन्छ । यसरी जागृत, स्वप्न, सुषुप्तिकालमा पनि सव्रिmय रहेर भूमिका निर्वाह गर्ने मनलाई त्रिकालज्ञ भनिन्छ ।

दुस्मन

दुस्मनको विविध शाब्दिक र लाक्षणिक अर्थ छ । दुस्मनलाई परिभाषित गर्न सजिलो छैन । आजभोलि दुस्मन भनेर व्यक्ति वा राष्ट्रको कुभलो चिताउने, नराम्रो गर्न खोज्नेलाई भनिन्छ । यथार्थमा दुस्मन अरू होइन, व्यक्ति स्वयं नै स्वयंको दुस्मन हुन्छ । दुस्मनको लाक्षणिक अर्थ आफ्नै शत्रु आफ्नै मन अर्थात् खराब मन हो । आफैँमा खराब सोच भएको मनलाई नै दुस्मन भनिन्छ । आत्मासँग निकट रहेर आत्मघातमै उद्यत हुने यस्तो मनले आत्मालाई नै विचलित पार्ने खराब परिस्थिति पैदा गर्छ । आफैँभित्र क्रोध, अहङ्कार पालेर बस्नु नै दुस्मन हो ।

दोमन

अनिर्णयको बन्दी बनेको मनले कुनै निर्णय नगरीकन अलमलमा परेर ‘किं कर्तव्य विमुढ’ को अवस्थामा रहनु ‘दोमन’ हो । बुद्धि स्थिर नहुँदासम्म चञ्चल मनले यो गरौँ कि त्यो गरौँ भनेर दोमनमा झुलाउन थाल्छ । दोमनले गरेको काम निष्फल हुन्छ । मानिसले गर्नै नहुने र पर्नै नहुने दोमनमा हो । जो दोमनको छैन ऊ ‘किं कर्तव्य विमुढ’ भएर टोलाउँदैन, असफल भएर पश्चातापको भुमरीमा दोमनले पर्न पर्दैन ।

दोमनले ‘किं कर्तव्य विमुढ’ नबन्न, मनलाई चञ्चल हुन नदिन, मनलाई वशमा राख्न, कर्तव्यपरायण हुन धेरै प्रयोग गुरुकुल शिक्षामा हुने गथ्र्यो । मानिसलाई असफल तुल्याउने सबभन्दा ठुलो पक्ष नै दोमन हो । तसर्थ शास्त्रबाटै दोमन र द्वैध चरित्रलाई पापको प्रतीक मानियो । दोमन असफलता र अभिशाप हो भन्ने मान्यता स्थापित गरियो । 

मनोविज्ञको दृष्टिमा मन

शास्त्रमा वर्णित उपरोक्त मन र पश्चिमा दार्शनिकले परिभाषित गरेका मनको प्रकार र वर्णन उस्तै नै छन् । वैदिक शास्त्रले जसरी मनको चर्चा ग¥यो, त्यसरी नै पश्चिमा मनोवैज्ञानिक फ्रायडले मनको परिभाषा गरेका छन् । उनले सर्वप्रथम चेतनको चर्चा गर्दै चेतनासहित दैनिक कार्यहरूका लागि यसै मनको भूमिका हुने बताएका छन् ।

त्यस्तै अर्को हो अचेतन, यो मनको लगभग ९० प्रतिशत हिस्सा हो भनेर फ्रायडले भनेका छन् । अचेतनको कार्यका बारेमा व्यक्तिलाई जानकारी रहँदैन । यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियामा प्रभाव पार्छ । यसमा व्यक्तिको मूल–प्रवृत्तिसित जोडिएका इच्छाहरू जस्तै ः भोक, प्यास, यौन इच्छाहरू दबिरहेका हुन्छन् । मनुष्यले मनको यस भागको सचेतन प्रयोग गर्न सक्दैन । इच्छाहरू नियन्त्रणबाट बाहिर निस्केपछि कुनै मनोरोगको रूप लिन सक्छन् ।

त्यस्तै चेतन तथा अचेतन मनको बिचको भाग अर्धचेतन मन हो, जसलाई मनुष्यले चाहेमा प्रयोग गर्न सक्छ, जस्तै स्मरण शक्तिको त्यो भाग; जसलाई व्यक्तिले प्रयास गरेर कुनै घटनालाई सम्झना गर्नमा प्रयोग गर्न सक्छ । 

मनका अन्य प्रवृत्तिमा चाँडै सन्तुष्टि चाहनु पनि हो । जस्तो कि यौनता, आक्रामकता, भोजन आदि इच्छाहरूको मानिस चाँडै सन्तुष्टि चाहन्छ । ती इच्छाहरू अतार्किक तथा अमौखिक हुन्छन् र चेतनामा प्रवेश गर्दैनन् ।

मानिसको विवेक र प्रवृत्तिमा आधारित रहने मन ‘अहम्’ हो । म नै हुँ भन्ने भाव यसमा रहन्छ । यसको प्रमुख कार्य मनुष्यलाई तनाव वा चिन्ताबाट बचाउनु पनि हो । आजभोलि अहम्तालाई अर्कै किसिमले व्याख्या गरिए पनि वास्तवमा आफूले आफैँसँग गर्व गरेर सन्तुष्ट हुनु र चिन्ताबाट मुक्त हुनु नै अहम् हो ।  

Author

यादव देवकोटा