• १६ वैशाख २०८१, आइतबार

ग्याबोनमा सैन्य ‘कु’, निर्वाचित राष्ट्रपति नजरबन्दमा

blog

अफ्रिका, भदौ १४ गते । अफ्रिकन देश ग्याबोनमा सेनाले ‘कु’ गरेको छ । ग्याबोनिज रिपब्लिकन गार्डका कमाण्डर इन चिफ ब्रिस ओलिगुई न्गुइमाले बुधबार राति एउटा विद्रोहपछि मध्य अफ्रिकी देशको सङ्क्रमणकालीन नेताको रूपमा नाम दिइएको थियो ।

राष्ट्रिय निर्वाचन आयोगले मङ्गलबार राष्ट्रपति अलि बोंगोले तेस्रो काईकाल जितेको घोषणा गरेको थियो । तर सेनाले राज्य टेलिभिजनमा चुनावी नतिजा रद्द भएको र बोंगोलाई घरमै नजरबन्द गरेको घोषणा गरेको थियो ।

ग्याबोनी सेनाका नेताहरूले सर्वसम्मत भोटबाट न्गुमालाई संस्थाको सङ्क्रमण र पुनः स्थापना समिति (सिटीआरआई) को अध्यक्ष नियुक्ति गर्न सहमत भएको समितिका प्रवक्ता उलरिच मनफोउम्बी मनफोम्बीले बताउनुभयो ।

राष्ट्रपति बोन्गोलाई परिवारका सदस्य र चिकित्सकहरूसँगै राखिएको बताइएको छ । उहाँको एउटा छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ परेका छन् । सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ । ‘कु’ को समर्थन गर्दै हजारौँ मानिस सडकमा निस्केका छन् ।

अलि सन् २००९ मा राष्ट्रपति हुनुभएको थियो । त्यसयता उहाँ निरन्तर सत्तामा हुनुहुन्थ्यो । उहाँले सन् १९६७ देखि राष्ट्रपति रहनुभएका आफ्ना पिता ओमारबाट सत्ता प्राप्त गर्नुभएको थियो । बोन्गोको परिवार ग्याबोनमा ५३ वर्षदेखि सत्तामा थियो । पछिल्लो समय देशमा संस्थागत, राजनीतिक, आर्थिक तथा सामाजिक सङ्कट देखापरेकाले ‘कु’ गर्नुपरेको सेनाले दाबी गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल