• २० मंसिर २०८१, बिहिबार

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गौरव यात्रा र्‍याली

blog

काठमाडौं, भदौ १४ गते । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आज आफ्नो पहिचानसहितको वृहत् र्‍यालीसहितको विविध कार्यक्रमको आयोजना गर्दैछ ।

देशभरबाट राजधानी काठमाडौँमा जम्मा भएर गाईजात्रा पर्वको अवसरमा समुदायका सदस्यहरूले आफ्नो पहिचानसहितको भेषभुषामा गौरव यात्रा निकाल्न लागेको हो । आफूहरूको अस्तित्व समाजमा छ भन्ने जानकारी दिँदै अन्य मानव सरहको मानव अधिकारका लागि आह्वान गर्दै गौरव यात्रा निकालिने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले जनाएको छ ।

गौरव यात्रामा देखिने दृश्यकै आधारमा आफूहरूलाई हास्यव्यङ्ग्य र विभेदको पात्रका रूपमा नहेरिदिन समुदायले अपिल गरेको छ । हरेक वर्ष गाईजात्राका अवसरमा निकालिने र्‍यालीमा विविध पहिरनसहितको र्‍याली निकालिने गरेकोमा सो पहिरन र सजावटकै आधारमा मात्र हास्यव्यङ्ग्यको पात्रको रूपमा चित्रित नगरिदिन अपिल गरेको हो ।

महासङ्घले पत्रकार भेटघाट गर्दै नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले हरेक वर्ष गाईजात्राका दिन आफ्नो पहिचान झल्काउनेगरी मनाउँदै आएको जानकारी गराएको छ । सन् २००४ देखि हरेक वर्ष समुदायभित्र विभिन्न लान्छना र भेदभावका कारण मृत्युवरण गरेका व्यक्तिहरूको सम्झनामा शोकसहित मैनबत्ती प्रज्वलनको कार्यक्रम, सांस्कृतिक तथा लैङ्गिक पहिचानसहितको भेषभुषामा र्‍याली निकाल्ने गरेको महासङ्घका उपाध्यक्ष भूमिका श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार आफ्नो समुदायले गाईजात्रा पर्वलाई नेपाली मौलिक प्राइड परेड अर्थात् गौरव यात्राका रूपमा मनाउने गरेको छ । श्रेष्ठले भन्नुभयो, “अरुबेलामा खुल्न नसकेको धेरै जना यही दिन खुलेर आफ्नो पहिचानसहित स्वतन्त्र सडकमा हिँड्नुहुन्छ, त्यसैले यो दिनमा देखिएका अनुहारलाई हास्य पात्र बनाइदिनु भएन ।”

महासङ्घका सदस्य करुणा नेपालका अनुसार समुदायका व्यक्तिहरू भेला भएर आफ्नो लैङ्गिक व्यक्त गर्दै उत्सव मनाउने, समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले गाईजात्रा मनाउने गरेको छ । समुदायका विविध पहिचानका लागि काम गर्ने सङ्घसंस्थाहरू र अधिकारकर्मीले बिहीबार दिन गौरव जात्रा, गीत, सङ्गीत तथा नाटक लगायतका विविध कार्यक्रमको आयोजना गरी गाईजात्रा पर्व मनाउने महासङ्घले जनाएको छ । ठमेलबाट निकालिने र्‍याली टुँडिखेलमा औपचारिक कार्यक्रममा परिणत हुनेछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, नेपालस्थित अमेरिकी राजदूत डीन रिचार्ड थम्पसन लगायतका विशिष्ट अतिथि सहभागी हुने कार्यक्रममा साँझ विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।