• ४ असार २०८१, मङ्गलबार

सन्दीप एसिया कप खेल्न पाकिस्तान प्रस्थान

blog

सन्दीप लामिछानेलाई बिदाइ गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङ । तस्बिर : क्यान

काठमाडौं, भदौ ११ गते । क्रिकेटर सन्दीप लामिछाने बुधबारदेखि सुरु हुने एसिया कप क्रिकेट खेल्न सोमबार पाकिस्तान प्रस्थान गर्नुभएको छ । टोलीमा रहेपनि आइतबार मुद्दाको पेसी रहेकोले सन्दीप यसअघि टोलीसँग पाकिस्तान जानुभएको थिएन ।

काठमाडौँ जिल्ला अदालतले सन्दीप विरुद्धको मुद्दा आइतबार हेर्न नभ्याइनेमा राखेपछि सन्दीप एसिया कप खेल्न पाकिस्तान जानुभएको हो । सन्दीपलाई त्रिभुवन विमान स्थलमै पुगेर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बिदाइ गर्नुभयो । 

बिदाइ कार्यक्रममा सन्दीपले एसिया कपमा विश्व नम्बर एक पाकिस्तान र भारतसँग खेल्न पाउनु नेपालका लागि ठुलो अवसर भएको बताउनुभयो । ‘‘एसिया कप हाम्रो लागि राम्रो टोलीसँग खेल्ने मौका हो । हामीले यसबाट धेरै सिक्नेछौँ । म एसिया कपमा लागि व्यक्तिगत रूपमा फिट र तयार छु । पहिलो पटक विश्व स्तरीय टोलीसँग राम्रो गर्ने प्रयास गर्नेछौँ । एसिया कपमा लागि हामीले राम्रो तयारी गरेका छौँ । आशा छ हामी वेस्ट दिनेछौँ । भविष्यमा पनि पाकिस्तान र भारतसँग खेल्ने वातावरण बनाउन आवश्यक छ,’’ सन्दीपले भन्नुभयो ।

राखेप सदस्य सचिव टङ्कलालले सन्दीपको उपस्थितिले नेपाली टोलीले पूर्णता पाउने बताउनुभयो । उहाँले सन्दीपसहित नेपाली टोलीलाई राम्रो प्रदर्शन गर्न शुभकामना पनि दिनुभयो । 

नेपाली टोली कराँचीमा एक साता तयारी गरेर आइतबार मात्र एसिया कपको उद्घाटन खेल खेल्न मुल्तान पुगेको छ । नेपालले समूहको पहिलो खेल बुधबार (अगस्ट ३०) पाकिस्तानसँग मुल्तान क्रिकेट रङ्गशालामा खेल्नेछ । 

पाकिस्तानसँग खेलेपछि नेपालले सेप्टेम्बर ४ मा भारतसँग अर्को खेल श्रीलङ्कामा खेल्नेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । 

समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेल श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा हुन लागेको हो ।