• १५ मंसिर २०८१, शनिबार

लगानी स्वीकृतिपत्र हस्तान्तरण

blog

काठमाडौँ, भदौ ११ गते । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ऋण प्रवाह गर्ने प्रतिबद्धता जनाएका चार जलविद्युत् आयोजनाका लागि ऋण स्वीकृत गरेको पत्र प्रदान गरेको छ । शुक्रबार एचआइडिसिएलले एकै पटक कुल पाँच सय मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा १३ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको पत्र प्रदान गरेको हो । 

ऋण स्वीकृतिपत्र उपलब्ध गराइएका आयोजनाहरूमा २८५ मेगावाटको अप्पर तमोरका लागि चार अर्ब, १०६ मेगावाटको जगदुल्लाका लागि चार अर्ब, ५६ मेगावाटको सानिमा जुम खोलाका लागि दुई अर्ब र ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ का लागि तीन अर्ब रहेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले आयोजनाका प्रवर्धकहरूलाई स्वीकृतपत्र हस्तान्तरण गर्नुभएको हो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी गौतमले एचआइडिसिएल नेपालको जलविद्युत् विकासमा मुख्य हिस्सेदार बन्ने गरी अग्रसर हुने बताउनुभयो । कम्पनीका उद्देश्य पूर्तिका लागि आवश्यकता अनुसार पुनर्संरचनाका काम पनि अगाडि बढाइने उहाँको भनाइ थियो । गौतमले सहवित्तीयकरणमा लगानी गर्न चाहने बैङ्कहरूलाई सहज हुने गरी कम्पनीले नै पहिलो निर्णय गरेको बताउनुभयो । “आफ्नो उद्देश्य अनुसार काम गर्दै कम्पनीले अहिलेसम्म ऋण र स्वपुँजी गरी २७ अर्ब ३९ करोड लगानी स्वीकृत गरिसकेको छ,” उहाँले भन्नुभयो, “संस्थालाई अझै प्रगतिशील बनाउने गरी पुनर्संरचना गर्नुपर्नेमा पनि व्यवस्थापन सचेत छ । राष्ट्र बैङ्कको नियामकीय प्रबन्धको संरचना आकर्षित हुने गरी पुनर्संरचनामार्फत थप सशक्त बनाउने योजना छ ।”

योसहित एचआइडिसिएलले आर्थिक वर्ष २०७९/८० मा मात्र १६ अर्ब ५६ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको छ । चार आयोजनामा अप्पर तमोर र जगदुल्ला आंशिक जलाशययुक्त तथा जुम खोला र मोदी ‘ए’ नदी प्रवाही जलविद्युत् आयोजना हुन् ।