• ८ पुस २०८१, सोमबार

डुबानपछि २० घरपरिवार विद्यालय भवनमा आश्रित

blog

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –२० मा वर्षाको पानी घरभित्र पसेपछि डुबानमा परेका स्थानीयको उद्धार गर्दै सशस्त्र प्रहरी । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, भदौ ८ गते । निरन्तरको वर्षाका कारण नेपालगञ्ज उपमहानगरपालिका –२० को गायत्रीनगर डुबानमा परेको छ । डुबानमा परेका स्थानीयको सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधिको सहयोगमा उद्धार गरिएको छ । 

घरभित्र पानी पसेपछि डुबानमा परेका करिब २० घरपरिवारका ५० बढी स्थानीयलाई सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी आदर्श माध्यमिक विद्यालयमा आश्रय दिएर राखिएको वडाध्यक्ष कौशलकुमार धोबीले जानकारी दिनुभयो । वडा अध्यक्ष धोबीले भन्नुभयो, ‘अधिकांशको घरभित्र पानी पसेको छ, विस्थापितलाई विद्यालय भवनमा सारिएको छ । 

केही दिनदेखि निरन्तर वर्षा भइरहेकोमा शुक्रबार विहान अधिकांश घरभित्र पानी पसेको छ । कोहलपु्र नगरपालिका, जानकी गाउँपालिका लगायतका क्षेत्रबाट बगेर आउने पानी जम्मा भई गायत्रीनगरमा वर्षाको समय डुबानमा पर्नेगरेको छ । 


वडा अध्यक्ष धोबीले वर्षा रोकिएपछि केही दिनका लागि आवश्यक खाद्यान्न वडा कार्यालयबाट व्यवस्थापन गरेर घर फिर्ता पठाउने बताउनुभयो । वर्षा निरन्तर रहेमा बसेकै विद्यालयमा उहाँहरुको व्यवस्थापन गरिने वडा कार्यालयले जनाएको छ । वर्षाको पानी घरभित्र पसेपछि अधिकांशको घरभित्रका खाद्यान्न तथा लत्ताकपडा भिजेको छ । 

पहाडी जिल्लामा वर्षा नभएका कारण राप्ती नदीमा भने पानीको सतह सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय बाँके आपतकालीन कार्य सञ्चालन केन्द्र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।