• १४ जेठ २०८१, सोमबार

नेपालमा प्याजको अस्वाभाविक मूल्य वृद्धि

blog

काठमाडौँ, भदौ ६ गते  । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो । त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ । 

समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा प्याजभित्र प्याज आउन छाडेपछि प्याज दैनिक मूल्य सूचीबाट हटाएको जानकारी दिनुभयो । “भारतले प्याजमा प्रतिबन्ध लगाएको त होइन, निर्यात महसुल वृद्धि पो गरेको हो,” उहाँले भन्नुभयो, “नियमित कालीमाटी आउने प्याज कहाँ गयो ? खोजी गर्नुपर्ने कसले हो ?” कालीमाटीका व्यापारीहरू कालीमाटी भित्रिँदै आएको प्याज निर्यातकर्ताले अन्य बजारबाट महँगोमा बिक्री गरेको बताउँदै आएका छन् । 

भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुल लगाएको थियो । उक्त महसुल २१ डिसेम्बर २०२३ सम्म लागु हुने भनिएको छ । 

भारत सरकारले आफ्ना नागरिकलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा अहिले प्याजको भाउ प्रतिकेजी २४ भारु (नेपाली ३८ रुपियाँ) खुद्रामा कारोबार भइरहेको छ । भारतमा अगस्ट महिनामा विगत एक दशकयताकै सुक्खायाम लागेकाले पनि उत्पादनमा कटौती भएको आकलन गरिएको छ । 

आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ६१ रुपियाँ थोकमा कारोबार भएको प्याजको भाउ सोमबार बढेर ९० रुपियाँसम्म पुगेको छ । यसको भाउ खुद्रामा ११० रुपियाँमा कारोबार भएको छ । जुुन स्वाभाविक मूल्य हो ।

बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरी मौज्दात रहेको प्याजको मनलाग्दी मूल्य राखेर बिक्री गर्न थालेका छन् । जब कि भारतबाट आयातै गरिएकै छैन । आइतबार रातिदेखि कालीमाटी बजारमा भित्रिनुपर्ने प्याजको ट्रक नै कहाँ ‘गायब’ पारिनुले प्याजमा कालोबजारी भएको स्पष्ट हुन्छ । 

कालीमाटी तरकारी बजारमा शतप्रतिशत प्याज भारतबाटै आउँछ । भारतले शनिबारदेखि निर्यात महसुल लागु गरे पनि शनिबार भन्सार बन्द भएकाले आइतबार बिहान ४० मेट्रिक टन आए पनि रातिदेखि भने नआएको समितिका सूचना अधिकारी श्रेष्ठको भनाइ छ । आइतबार कम परिमाणमा भित्रिए पनि व्यापारीसँग प्याज मौज्दात छ तर भारतले निर्यात महसुल लगाएको चर्चासँगै यहाँ तत्काल मूल्य वृद्धि गरेर कालोबजारी गरेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बताउनुभयो । भारतको निर्यात महसुल वृद्धि गर्ने नीतिले महँगी बढ्नु स्वाभाविक भए पनि तुरुन्तै बढ्नु स्वाभाविक नभएको उहाँको तर्क छ । अधिकारकर्मी महर्जनले बजारमा देखिएको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न नियामक निकाय चनाखो हुन नसक्दाको परिणाम हो भन्नुभयो । 

अस्वाभाविक मूल्य वृद्धि गर्नेलाई नछाड्ने : विभाग महानिर्देशक 

बजार अनुगमन र मूल्य नियन्त्रणको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार र मङ्गलबार प्याजको अनुगमन गरेर बढी मूल्य लिने व्यवसायीलाई कारबाही तथा जरिबाना गरेको जनाएको छ । विभागले अस्वाभाविक रूपमा प्याजको भाउ बढाउने व्यापारीलाई नछाड्ने जनाएको छ ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागको चार वटा टोलीले कालीमाटी, बल्खु, बानेश्वर, बालाजु, ललितपुर, भक्तपुरका मुख्य तरकारी बजारमा गोदाममा अनुगमन गर्दा सबै गोदाम खाली भएको पाइएको जानकारी दिनुभयो । भारतको निर्यात महसुल बढाउने नीति आउनेबित्तिकै प्याजको भाउ बढ्नु, रातारात गोदाम खाली हुनु अस्वाभाविक भएको बताउँदै उहाँले भन्नुभयो, “भारतको निर्णयको मसी सुक्न नपाउँदै मूल्य बढाउनका लागि गोदाम सारिएको छ । यो व्यवहारले हाम्रो व्यापारमा नैतिकता र इमानदारिता हराएको स्पष्ट हुन्छ ।” 

महानिर्देशक ठाकुरका अनुसार विभागले सोमबार बिहानै उपत्यकामा प्याज आयात गर्ने मुख्य चार व्यापारीलाई फोनमार्फत खरिद र बिक्री बिलसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो । विभागका अनुसार ती व्यापारीमध्ये तीन व्यापारीले कागजात पेस गरेका छन् र एउटाले भने काठमाडौँबाहिर भएको बहाना बनाइरहेको छ । 

विभागमा आएका तीन व्यापारीको खरिद र बिक्री बिल पनि सन्तोषजनक भएको नपाइएकाले थप प्रमाणको खोजी भइरहेको महानिर्देशक ठाकुरले जानकारी दिनुभयो । भारतले लगाएको निर्यात र त्यसले पार्न सक्ने मूल्य वृद्धिको अध्ययन गरिने वाणिज्य विभागका महानिर्देशक ठाकुरले बताउनुभयो ।  बिचौलियाले थप बढाउन सक्ने मूल्यप्रति विभाग सचेत रहने पनि उहाँको भनाइ छ । 

प्याज आयातमै भर

कृषि विभागका अनुसार नेपालमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ । ती क्षेत्रमा औसत २० हजार २५१ हेक्टरमा प्याज खेती हुने गरेको विभागको तथ्याङ्क छ । यहाँ वार्षिक करिब तीन लाख मेट्रिक टन उत्पादन हुन्छ । बाँकी आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । गत आर्थिक वर्षमा ११ करोड ७४ लाख रुपियाँको प्याज आयात भएको भन्सार विभागको तथ्याङ्क छ । त्यसमध्ये भारतबाट सात करोड १० लाख र चीनबाट चार करोड ६३ लाख रुपियाँको प्याज आएको छ ।