• १४ मंसिर २०८१, शुक्रबार

व्यवसायीलाई करको दायरामा ल्याउन घुम्ती शिविर

blog

घुम्ती शिविरमा सहभागी कर्मचारी तथा व्यवसायीहरु । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ ५ गते । व्यवसायीलाई करको दायरामा ल्याउन व्यवसाय दर्ता तथा नवीकरण घुम्ती शिविर सञ्चालन गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले पालिकाका विभिन्न बजार क्षेत्रमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई करको दायरमा ल्याउन व्यवसाय तथा नवीकरण शिविर सञ्चालन गरेको हो । 

पालिकाले विभिन्न चार स्थानमा शिविर सञ्चालन गरेको शिविरमार्फत १४९ व्यवसाय दर्ता भएका छन् । पहिलो दिन मानेभन्ज्याङ गाउँपालिका –७ हर्कपुरमा सञ्चालन गरिएको शिविरमार्फत ४१ वटा नयाँ व्यवसाय दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताउनुभयो । 

नौ वटा व्यवसाय नवीकरण भएका छन् । दोस्रो दिन मानेभन्ज्याङ –६ को जयरामघाटमा सञ्चालन गरिएको शिविरमार्फत १५ र थाक्लेका नौ वटा गरी २४ वटा नयाँ व्यवसायी दर्ता हुन आएको प्रमुख प्रशासकीय अधिकृत राईको भनाइ छ । 

तेस्रो दिन मानेभन्ज्याङ –५ को हिटी र मानेभन्ज्याङ बजारका ४१ वटा व्यवसाय दर्ता भएका छन् । त्यसैगरी वडा –४ केतुकेमा सञ्चालन गरिएको शिविरमार्फत ४३ वटा व्यवसाय दर्ता भएका छन् । पाँच वटा नवीकरण भएका छन् । गाउँपालिकाको क्षेत्रमा सञ्चालित उद्योग, पसल, फर्म र व्यवसायलाई स्थानीय तहमा करको दायरामा ल्याउन सहज सेवा प्रवाहका लागि व्यवसाय दर्ता घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो ।

दर्ता नगरी सञ्चालन हुँदैआएका पसल, व्यवसाय, उद्योगलाई व्यवस्थित गर्न, नियमन गर्न र करको दायरामा ल्याउन शिविर सञ्चालन गरिएको अध्यक्ष रुम्दालीको भनाइ छ । शिविरमा दर्ता तथा नवीकरण हुन छुटेका व्यवसायीलाई वडा स्तरीय दर्ता नवीकरण अभियानमा समेटिने अध्यक्ष रुम्दालीले जानकारी दिनुभयो । 

शिविर सञ्चालनकै क्रममा गाउँपालिकाले बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।