• ८ साउन २०८१, मङ्गलबार

एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली सुरु

blog

काठमाडौँ, भदौ ४ गते  । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्नो मातहतका कार्यालयबाट एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आइएलएमआइएस) सुरु गरेको छ । विभागले गएको शुक्रबारदेखि ‘पाइलट’ का रूपमा उक्त प्रणाली सुरु गरेको हो ।

विभागका महानिर्देशक केशवप्रसाद विमलीले विभागबाट हुने सबै गतिविधि तीन महिना ‘पाइलट’ का रूपमा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभागका सबै गतिविधि तीन महिनासम्म ‘पाइलट’ का रूपमा सञ्चालन गर्छौं, यो सफल हुनेबित्तिकै पूर्ण रूपमा अनलाइनमै जान्छौँ ।”  

विभागका अनुसार एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आइएलएमआइएस) सञ्चालनमा आइसकेको छ । यो सफ्टवेयर परीक्षणमै भएकाले अहिले पूर्ण रूपमा कार्यान्वयनमा जाँदा समस्या आउन सक्ने भएकाले तीन महिना परीक्षण अवधि तोकिएको विभागका महानिर्देशक विमलीले जानकारी दिनुभयो । 

विभागले उक्त सफ्टवेयर भदौ १ देखि परीक्षणका रूपमा कार्यान्वयनमा ल्याएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै गैरनेपाली नागरिकले श्रम स्वीकृति तथा इजाजत अनलाइनबाटै लिन सक्ने छन् । 

साथै ट्रेड युनियन दर्ता/नवीकरण, श्रमिक आपूर्तिकर्ताको दर्ता/नवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेस, प्रतिष्ठान दर्तालगायत विभागबाट भइरहेका कामसमेत अब अनलाइनबाट गर्न सकिने भएको छ । विभागका अनुसार सेवाग्राहीले ‘आइएलएमआइएस डट डिओएलओएस डट जिओभी डट एनपी’ मा गएर आवेदन दिन सक्ने भएका छन् । 

यस्तै विभागले भाइबर र ट्विटरमार्फत सिधा सम्पर्क गरेर उजुरी टिपाउन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । विभागले यस्ता उजुरीको अवस्था अनुसार तुरुन्तै कानुनबमोजिम सम्बन्धित रोजगारदाता प्रतिष्ठानको कारबाही प्रक्रियामा जाने तयारी गरेको जनाएको छ ।

विभागका निर्देशक मणिनाथ गोपले नियुक्तिपत्रबिना काम गर्न समस्या थुप्रै भए पनि कतिपयले आउनको झन्झटले गर्दा उजुरी नदिने गरेकाले सहज बनाउन हटलाइन सेवाको सुरु गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार नियुक्तिपत्रबाहेक उद्योग प्रतिष्ठानमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएमा, तोकेको पारिश्रमिक दिन ढिलासुस्ती गरेमा, बालश्रम लगाएको पाइएमा पनि तुरुन्त उजुरी गर्न सकिने छ ।  भाइबर र ट्विटरमार्फत आएका उजुरीको तुरुन्तै श्रम ऐन २०७५ र नियमावली २०७६ अनुसार कारबाही प्रक्रियामा लैजाने निर्देशक गोपले जानकारी दिनुभयो ।