गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ६ गते । कार्यभार समालेको १७ महिनामै नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिनुभएको छ ।
शुक्रबार बोर्ड सञ्चालक समितिको बैठकमा उहाँले राजीनामा घोषणा गर्नुभएको हो । त्यसपश्चात् उहाँले अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामापत्र बुझाउनुभएको थियो । धितोपत्रसम्बन्धी ऐनमा बोर्डको अध्यक्षले नेपाल सरकारसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था छ । श्रेष्ठलाई सरकारले २०८१ मङ्सिर १० मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको थियो ।
वर्तमान परिवेशमा नयाँ सरकारका आर्थिक तथा नीतिगत प्राथमिकतालाई प्रभावकारी रूपमा अगाडि बढाउन र कार्ययोजनाका उद्देश्यलाई मार्ग प्रशस्त गर्नका लागि नैतिक र कर्तव्यनिष्ठ रूपमा भूमिका निर्वाह गर्नुपर्ने भन्दै शनिबारदेखि लागु हुने गरी राजीनामा दिएको श्रेष्ठले अर्थ मन्त्रालयमा बुझाउनुभएको राजीनामापत्रमा उल्लेख छ ।