• ६ जेठ २०८१, आइतबार

गैँडाकोट ९ पहिलो पूर्ण सहकारी वडा घोषणा

blog

गैडाकोट वडा ९ लाई पूर्ण सहकारी वडा घोषणा कार्यक्रम । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, भदौ २ गते । पूर्वी नवलपरासीको गैँडाकोट–९ देशमै पहिलो पूर्ण सहकारी वडा घोषणा भएको छ । गैँडाकोटको सो वडाका करिब ९४ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकाले पूर्ण सहकारी वडा घोषणा गरिएको हो ।

सहकारीमार्फत विपन्न वर्गले पनि आफ्नो जीवनस्तर उकास्न पाएको भन्दै सहकारीले आफ्नो ध्येयलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने नगर प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । गैँडाकोट ९ मा २ हजार १ सय ८८ जनसङ्ख्या रहेको छ । त्यसमध्ये १४ सय जनसङ्ख्या विकूमा आबद्ध छन् । 

१ सय ९६ जना आकुरा सदस्य पनि विकूमा आबद्ध रहेको सचिव अधिकारीले बताउनुभयो । गैँडाकोट ९ का ४ सय ९२ घरधुरीमध्ये अहिले विकू सहकारीमा ४ सय ७० घरधुरीको आबद्धता छ । 

विकूले नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवनका गरी १४३ वडामा २४ वटा सेवा केन्द्रमार्फत करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय तथा गैर वित्तीय कार्यक्रम सञ्चालन गर्दैआएको संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । यसरी देशमै पहिलो सहकारीले पूर्ण सहकारी सदस्य वडा घोषणा गर्न पाउनु विकूको लागि गौरवको विषय भएको पदाधिकारीको भनाइ छ ।  

विकू सहकारीका अध्यक्ष ओमप्रसाद सापकोटाले आफै केही गर्नुपर्छ भन्ने भावना भएका व्यक्तिहरू रहेकाले पूर्ण सदस्य वडा घोषणा गरिएको बताउनुभयो । वडा कार्यालय, नगरपालिकासँग सहकार्य गरी गैरवित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउनेखालका कार्यक्रम गरिने उहाँको भनाइ छ ।  

गैँडाकोट –९ का वडाध्यक्ष धामनाथ सापकोटाले सहअस्तित्व, सहकार्य, सहलगानी नै सहकारी भएकाले आफ्नै वडाबाट पूर्ण सहकारी वडा घोषणा हुँदा खुसी लागेको बताउनुभयो । 

वडामा रहेको नवजागरण सेवा केन्द्र, विकूका २४ वटा सेवा केन्द्रमध्ये तीन पटकसम्म उत्कृष्ट सेवा केन्द्रका रूपमा समेत पुरस्कृत भइसकेको सेवा केन्द्र हो ।