काठमाडौं, साउन ३२ गते । नेपालमा आँखा पाक्ने रोग समस्याका रूपमा फैलिरहेको छ । प्रहरी हिरासतमा रहेकाको आँखा जाँच गर्दा काठमाडौँमा चार सयभन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानले प्रहरी हिरासतमा रहेका ८८१ जनाको आँखा जाँच गर्दा चार सयभन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको हो ।
प्रतिष्ठानले साउन ३० गते टेकु, कालीमाटी, बलम्बु, महाराजगन्ज, बालाजु, लैनचौर, स्वयम्भू, सिंहदरबार, बानेश्वर, बौद्धलगायतका क्षेत्रमा प्रहरी हिरासतमा रहेका व्यक्तिको निःशुल्क आँखा जाँच गरी औषधि वितरण गरेको थियो ।
आँखा पाक्ने रोग के हो ?
प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ, डा.कौशल पोखरेलका अनुसार यो समस्या ब्याक्टेरिया, भाइरस जस्ता सूक्ष्म जीवाणुका कारण लाग्ने गर्छ । एलर्जी, धुलो, धुवाँको असरका कारणले गर्दा विभिन्न रसायन आँखामा परेमा पनि आँखा पाक्ने रोग देखिने पोखरेलको भनाइ छ ।
आँखा पाकेमा आँखा रातो हुने, आँखा चिलाउने, आँखामा कचेरा लाग्ने तथा टासिने, आँखाबाट आशु बगिरहने, आँखा सुनिने, दुख्ने बिझाउने, घाम तथा उज्यालो प्रकाशमा हेर्न समस्या हुने जस्ता लक्षण देखिने डा. पोखरेल बताउनुहुन्छ ।
आँखा पाक्ने रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने हुँदा आँखा पाक्ने रोगबाट बच्न उहाँको सुझाव छ । त्यसका अलावा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा नजाने र सङ्क्रमित व्यक्ति भीडभाडमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल , सिरानी, तन्ना प्रयोग नगर्ने ।
आँखा पाक्नबाट जोगिन जथाभाबी आँखा नछुने/आँखा छुनुभन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्ने, आँखा पाकेकाहरूले प्रयोग गरेका तौलिया रुमाल प्रयोग नगर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिन डा. पोखरेलले आग्रह गर्नुभयो ।
डा. पोखरेलका अनुसार आँखा पाकेमा बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने, आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने, आँखा छोइसकेपछि साबुन पानीले मिचिमिची राम्रोसँग हात धुने, प्रशस्त मात्रामा पानी र पोसिलो खाना खाने ।
बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेर रुमाल टावेल, सिरानी तन्ना आदि हरेक दिने धुने वा सफा गर्ने । सङ्क्रमित व्यक्तिले प्रयोग गरेर सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।
जथाभाबी रूपमा आँखामा औषधिको प्रयोग नगर्ने पोखरेलको सुझाव छ । उहाँ भन्नुहुन्छ, “आँखा पाकेमा नजिकेको अस्पतालमा गएर चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्ने । जथाभाबी एन्विायोटिक औषधि प्रयोग नगर्ने ।”
सामान्यतया यो समस्या एकदेखि दुई हप्तामा आफैँ निको हुन्छ । दृष्टि कम लगायतका आँखासम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्यसंस्था जान चिकित्सकको सुझाव छ ।