सिराज खान
नेपालगन्ज, साउन ३१ गते । पछिल्लो समयमा आएर स्वास्थ्य उपचारका लागि पश्चिम नेपालकै मुख्य हब बन्दै गएको नेपालगन्जमा उपचारका नयाँ नयाँ सेवा सुरु हुन थालेका छन् ।
पश्चिम नेपालका करिब दुई लाख बिरामीको बर्सेनि उपचार गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्लो पटक मिर्गौला रोगसम्बन्धी विशिष्टीकृत सेवा पनि सुरु गरिएको छ ।
डिएम नेफ्रोलोजिष्ट डा. सौरभ हमाल हाजिर भएसँगै भेरी अस्पतालमा पहिलो पटक मिर्गौला रोग सम्बन्धी विशिष्टीकृत सेवा सुरु भएको अस्पतालले जनाएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बुटवलबाट पश्चिम क्षेत्रमा पहिलो पटक भेरी अस्पतालमा डिएम नेफ्रोलोजिष्ट डा हमालले सेवा दिन थालेपछि यस क्षेत्रका मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूलाई अन्यत्र उपचार गराउन जानु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
उहाँका अनुसार यसअघि सो अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरू मिर्गौला रोगको उपचारका लागि काठमाडौँ र छिमेकी देश भारतका विभिन्न अस्पतालमा जाने गरेका थिए ।
अध्यक्ष शाहका अनुसार अस्पतालले विशिष्टीकृत सेवा बिस्तार गर्ने क्रममा नेफ्रोको सेवा पनि बिस्तार गरिएको हो । विशिष्टीकृत सेवा अन्तर्गत भेरी अस्पतालमा न्युरो, युरो लगायतका विभिन्न सेवा यसअघिकै सुरु भैसकेका छन् ।
अव भेरी अस्पतालमा हप्ताको सोमबार, बुधबार र शुक्रबार (सार्वजनिक बिदा बाहेक) अस्पतालको ५ नं. ओपिडीमा मिर्गौला रोग सम्बन्धी सेवा, इमरजेन्सी र वार्डबाट अन्य आवश्यक सेवाहरू प्रदान भइरहेको अस्पतालले जनाएको छ ।
यसअघि भेरी अस्पतालमा मिर्गौला रोगका बिरामीहरूको डायलिसिस लगायत अन्य उपचार सेवा फिजिसियन डा. पारस श्रेष्ठले दिँदै आउनु भएको थियो । अस्पतालमा विशिष्टीकृत सेवा सुरु गरिएपछि यस क्षेत्रका धेरै बिरामीहरूले सस्तो र सुलभ तरिकाले उपचार पाउने हुँदा उनीहरूलाई सहज हुने जनाइएको छ ।