• २० असोज २०८१, आइतबार

नेपालबाट बिहारमा रक्सी तस्करी

blog

लीलाराज खडका

बिर्तामोड, साउन ३१ गते ।  नेपालको भारत सीमामा रहेको बिहार राज्यमा मादक पदार्थ सेवन र विक्री वितरणमा रोक लागेसँगै नेपालबाट भारतीय बजारमा मादक पदार्थ चोरी पैठारी बढेर गएको छ ।

नेपाल भारत सीमास्थित झापा गाउँपालिकामा २ स्थित कुवाडी सडक बारी सडक खण्डबाट भारततर्फ लैजाँदै गरेको सवारीसहित  सशस्त्र प्रहरीद्वारा २ लाख ९३ हजारको मदिरा बरामद गरिएको छ ।   सशस्त्र प्रहरीले भारततर्फ लगिरहेको  ठुलो परिमाणकाे मदिरा झापा गाउँपालिकाबाट बरामद गरेसँगै सीमावर्ती नाकाबाट मदिरा तस्करीको घटना बढेको पाइएको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट प्रहरी निरीक्षक दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले झापा २ स्थित कुवाडी सडक खण्डबाट एक गाडी मदिरा बरामद गरेको हो ।

सोमबार दिउँसो अन्दाजी ४ बजेको समयमा बा २१ च ५०६० नम्बरको पिकअपमा पछाडि लुकाइछिपाई लगिरहेको अन्दाजी २ लाख ९३ हजार मूल्य बराबरको मादक पदार्थ गोरखा बियर, टुबोर्ग, ८८४८ रक्सी लगायत नाम गरेका मादक पदार्थ बरामद गरेको हो । सशस्त्रले मदिराको बिलबिजक केही नभएको जनाएको छ । भिसिटिएस र भ्याट बिल समेत नभएको अवस्थामा बरामद गरिएको मदिरा र गाडीसहित १७ लाख ९३ हजार मूल्याङ्कन गरी आन्तरिक राजस्व कार्यालय भद्रपुर बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसअघि पनि सशस्त्रले साउन १८ गते झापा १ लसुना बाट प्र १—०१—००१—७५०२ नम्बरको मारुती सुजुकीसहित मादक पदार्थ बरामद गरी आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाएको थियो । भारतको बिहार राज्यमा मदिरा पूर्ण रूपमा प्रतिबन्ध छ । त्यसैले झापाका नाकाबाट मदिराजन्य पदार्थ चोरी तस्करीको माध्यमबाट विहार लगिने गरेको छ । यस क्षेत्रबाट मादक पदार्थ तथा अन्य सामग्रीहरू चोरी तस्करी हुँदा सीमामा खटिएको सशस्त्र प्रहरी र चोरी तस्करी कार्यमा सङ्लनबिच पटक पटक झडप  हुँदै आएको छ । 

यता नेपालको पूर्वी नाका काँकडभिट्टा नाकामा भन्सार कार्यालयले १ सयभन्दा बढीको सामानमा भन्सार लगाउने निर्णय गरेसँगै चोरी पैठारीका संग्लनहरुको यस नाकालाई प्रयोग गर्न थालेको बताइएको छ ।