• २० असोज २०८१, आइतबार

सौर्य पम्प मर्मत गर्दै गाउँपालिका

blog

दमक समाचारदाता

दमक, साउन ३१ गते । शून्य लागतमा खेतबारी सिँचाइ गर्न सकिने सौर्य पम्प प्रणाली अर्थात् ‘सोलार सिँचाई’ प्रति कचनकबल गाउँपालिकाले चासो दिँदै पुराना सोलार सिँचाइको मर्मतसम्भार सुरु गरेको छ ।

पाँच वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपरजोन झापामार्फत कचनकबल गाउँपालिकामा व्यावसायिक कृषिमा संलग्न किसानको खेतबारीमा सोलार सिँचाइको प्रबन्ध गरिएको थियो । बिजुली र इन्धनबेगर नै सञ्चालन हुने भएपछि किसान पनि खुशी बनेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार आर्थिक वर्ष २०७४/७५ मा जोडिएका अधिकांश सौर्य पम्प सामान्य मर्मतसम्भारको अभावमा सञ्चालनमा आउन सकेका थिएनन् । आफूहरूले प्रारम्भिक चरणमा ९४ सौर्य पम्पको मर्मतसम्भार गरेको उहाँले जानकारी दिनुभयो ।

पालिकाले नै यससम्बन्धी मिस्त्री खोजेर किसानको लागत सहभागिताबिना नै मर्मतसम्भार गरिदिएर सञ्चालनमा ल्याएको पनि उहाँले बताउनुभयो । बाँकी रहेका अन्य सौर्य पम्प पनि मर्मतसम्भार गरिने जनाउँदै उहाँले विद्युत् र डिजेलको प्रयोग नगरी सिँचाइको व्यवस्था हुँदा किसानको उत्पादन लागत घट्ने भएकाले यो प्रभावकारी रहेको बताउनुभयो । सौर्य पम्प जडान गरिँदा सुपरजोन सञ्चालक समितिका संयोजक भट्टराई नै रहनुभएको थियो । 

सिँचाइका सुविधा नभएका कारण आकाशेपानीमा निर्भर किसानको खेतबारीमा सौर्य पम्प हुँदा दुई बाली धान लगाउने र यसले धानको उत्पादन वृद्धि हुने बताइएको छ ।

कचनकबलमा मात्र १२५ भन्दा बढी सौर्य पम्प जडान भएका थिए । भट्टराईका अनुसार झापामा नै पहिलो पटक कचनकबलका नूरी स्लाम कृषक समूह, पगलीभट्टी कृषक समूह, चप्रामारी कृषक समूह र नौलो भविष्य साना कृषक सहकारी संस्थामार्फत सौर्य सिँचाइ पम्प जडान भएको थियो ।