• २१ वैशाख २०८१, शुक्रबार

कक्षा १२ को नतिजामा सुधार

blog

काठमाडौँ, साउन ३१ गते । कक्षा १२ को नतिजामा गत वर्षको तुलनामा झिनो सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले मङ्गलबार सार्वजनिक गरेको नतिजा अनुसार ५०.९१ प्रतिशत परीक्षार्थी सफल भएका छन् । परीक्षामा स्तरीकरण नभएका (असफल) परीक्षार्थी ४९.०९ प्रतिशत छन् । 

सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउने परीक्षार्थीलाई मात्र सफल अर्थात् ग्रेडेड समूहमा राखिन्छ । दुवै खण्डमा ३५ प्रतिशत अङ्क ल्याउन नसक्ने परीक्षार्थीलाई असफल अर्थात् ननग्रेडेड भएको मानिन्छ । 

बोर्डले कक्षा १२ को परीक्षाको नतिजा परीक्षार्थीको प्राप्ताङ्क अनुसार सात समूहमा विभाजन गरेर सार्वजनिक गरेको छ । यस वर्ष माथिल्लो ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्यामा गत वर्षको तुलनामा वृद्धि भएको छ । नतिजा अनुसार यस वर्ष जिपिए ३.६१ देखि ४ सम्म छ हजार ९७६ जनाले ल्याएका छन् । यो गत वर्षको तुलनामा दुई हजार ७९७ जना बढी हो । 

त्यस्तै जिपिए ३.२१ देखि ३.६० सम्म ३८ हजार ९९९ जनाले ल्याएका छन् । जुन गत वर्षभन्दा आठ हजार ८९२ जनाले बढी हो । जिपिए २.८१ देखि ३.२० सम्म ६९ हजार १७४ जनाले ल्याएका छन् । यो गत वर्षभन्दा तीन हजार ८९० जना धेरै हो ।

तर यस वर्ष जिपिए २.४१ देखि २.८० सम्म ल्याउने परीक्षार्थी सङ्ख्या यस वर्ष ६३ हजार ७७ जना मात्रै छन् । जुन गत वर्षको तुलनामा एक हजार १६ जना कम हो । यस वर्ष जिपिए २.१ देखि २.४० सम्म ल्याउने परीक्षार्थी ११ हजार ४३८ जना छन् । यो गत वर्षको तुलनामा ५३८ जना धेरै हो । यस वर्ष जिपिए १.६१ देखि २ सम्म ल्याउने परीक्षार्थी ४७ जना मात्रै छन्, जुन गत वर्षको तुलनामा १२ जना बढी हो । 

सैद्धान्तिक र प्रयोगात्मकमा ठुलो भिन्नता 

हरेक विषयको नतिजा हेर्दा सैद्धान्तिक र प्रयोगात्मक खण्डमा विद्यार्थीले पाएको नतिजामा ठुलो भिन्नता देखिएको छ । नेपाली विषयमा सैद्धान्तिकतर्फ एक हजार ७१७ जनाले मात्रै ए प्लस ल्याएका छन् । तर सोही विषयको प्रयोगात्मकतर्फ भने एक लाख ८३ हजार ५४८ जनाले ए प्लस ल्याएका छन् । 

प्रयोगात्मकतर्फ सम्बन्धित विषयका शिक्षकले नै अङ्क प्रदान गर्न पाउने भएका कारण ए प्लस ल्याउनेको सङ्ख्या बढेको देखिन्छ । त्यस्तै अनिवार्य अङ्ग्रेजी विषयमा पनि सैद्धान्तिकतर्फ एक हजार ७८ जनाले मात्रै ए प्लस ल्याएका छन् । तर यही विषयमा प्रयोगात्मकतर्फ एक लाख ७९ हजार ५९४ जनाले ए प्लस ल्याएका छन् । अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, अनिवार्य गणितलगायतका विषयमा पनि यस्तै छ ।  

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रश्न निर्माण र नयाँ पाठ्यक्रमले निर्दिष्ट गरेको सामग्रीका कारण नतिजामा सुधार आएको बताउनुभयो । साथै उत्तरपुस्तिका परीक्षण तथा अङ्क प्रदान गर्ने तरिकामा पनि नयाँ प्रणालीको सुरुवात गरेकाले नतिजामा सुधार आएको शर्माले दाबी गर्नुभयो । 

कक्षा १२ को परीक्षा गत वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो । मुलुकभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा नियमिततर्फ तीन लाख ७२ हजार छ सय ३७ जना सहभागी थिए । बोर्डका अनुसार नियमितबाहेक ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । 

बोर्डले यसै वर्षदेखि लागु हुने गरी लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

अङ्ग्रेजीमा धेरै ननग्रेडेड 

यस पटक अनिवार्य अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात् एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेडेड समूहमा परेका छन् । त्यस्तै सामाजिक शिक्षा तथा जीवनोपयोगी विषयमा ५१ हजार १०४ जना, अनिवार्य नेपालीमा ३८ हजार ४५२ जना ननग्रेडेड समूहमा परेका छन् ।   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।