• १४ मंसिर २०८१, शुक्रबार

राजस्व छुट दिँदा सम्पत्तिमा महिलाको स्वामित्व बढ्यो

blog

व्यास नगरपालिकाको कार्यालयमा घर नक्सा पास गर्दै महिला । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, साउन ३० गते । तनहुँको व्यास नगरपालिकाले  महिलाको स्वामित्वको नाममा जग्गामा घरनक्सा पास गर्दा राजस्व छुट दिने व्यवस्था गर्दा सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको छ । छुट सुविधाले गर्दा पछिल्लो समय नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्सा पास गर्नेको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । 

महिलाको सम्पत्तिमा स्वामित्व बढाउने, उनीहरूलाई आर्थिक रूपमा सबल र पारिवारिक निर्णय प्रक्रियामा प्रभावकारी बनाउने लगायत लक्ष्य राखेर नगरपालिकाले राजश्व छुटको नीति अख्तियार गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो  । न्यौपानेले भन्नुभयो,“नगरपालिकाले महिलाको स्वामित्वमा घरनक्सा पास गर्दा राजश्वमा छुट दिएपछि सोचे अनुरूप नतिजा प्राप्त भएको छ । ”

तीन वर्षमा एक हजार दुई सय घर नक्सा पास गर्दा नौ सय घरनक्सा महिलाको स्वामित्वमा पास गरेको घरनक्सा शाखाले जनाएको छ । सम्पत्तिमा महिलाको स्वामित्व बढाउन घर नक्सा पास गर्दा नगरपालिका बाट छुट दिइने गरिएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । यस व्यवस्थाले गर्दा महिलाहरूलाई आर्थिक रूपमा सबल र पारिवारिक निर्णय प्रक्रियामा प्रभावकारी बनाउने गरेको उपप्रमुख दरै बताउनुहुन्छ । छुटको व्यवस्थाले गर्दा हाल नगरपालिकाको घरनक्सा शाखामा घरनक्सा पास गर्ने काममा आधाभन्दा बढी सेवाग्राही महिला हुने नगरपालिकाको भवन नियमन तथा घर नक्सा पास शाखाका प्रमुख इन्जिनियर अमृत केसीले जानकारी दिनुभयो । 

नगरपालिकाले महिलाको स्वामित्व बढाउन उनीहरूको नाममा घरनक्सा पास गर्दा राजश्वमा ५ प्रतिशत  छुट दिने उहाँले बताउनुभयो । शाखाका अनुसार महिलाको नाममा घरनक्सा पास बढ्न थालेपछि गएको वर्षमा घर नक्सा पास गर्दा एक करोड २ लाख राजश्व सङ्कलन भएकोमा ५ लाख राजश्व छुट दिइएको छ ।