• १४ मंसिर २०८१, शुक्रबार

बाढीबाट विस्थापितलाई तत्काल सहयोग पठाइने

blog

पोखरा समाचारदाता 

पोखरा, साउन ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक राखी मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित र प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गर्नुभएको छ। आइतबार रातिको बाढीले कागबेनी क्षेत्रका घर बगाउँदा सर्वसाधारण विस्थापित भएका छन् भने उनीहरूको  दैनिकी पनि असहज बनेको छ। 

उनीहरूको उद्धार, उपचार, राहत र पुनस्र्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले सरकारी, गैरसरकारी संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा सोमबार बसेको उक्त बैठकले प्रभावितलाई राहत व्यवस्थापनका साथै बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्नुपर्ने जनाएको छ। उक्त स्थानमा मेसिन उपकरण तथा सवारीसाधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि तीन हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय पनि बैठकले गरेको छ। जिल्ला विपत् व्यवस्थापन समिति मुस्ताङबाट माग भई आए अनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने, बाढीपहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षणलगायतका काममा गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूबाट आवश्यक समन्वय, स्रोत साधनको परिचालन र सहजीकरण गर्न बैठकले निर्देशन गरेको छ। 

मौसम प्रतिकूल भएकाले हेलिकोप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालका लागि ट्याक्टरबाट इन्धन, कम्बल, टेन्टलगायतका सामग्री पठाउने निर्णय बैठकले गरेको छ। लगातार बर्सात हुँदा बाढीपहिरोबाट पुगेको क्षतिका बारेमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग मुख्यमन्त्री पाण्डेले जानकारी लिनुभएको थियो। सोही क्रममा उहाँले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत पठाएको विपत् व्यवस्थापन कोषको रकम खर्च गरेर विपत्का विषयमा सर्वसाधारण नागरिकलाई परेको समस्या छिटो समाधान गर्ने गरी अघि बढ्न निर्देशन दिनुभएको छ। थप सहयोग आवश्यक परेमा प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले सुरक्षा निकायसहित जिल्लास्थित प्रदेश मातहतका कार्यालयलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ।