• २० असोज २०८१, आइतबार

समस्या बन्दै ‘कजवे’

blog

धनकुटा–हिले खण्डमा निर्माण गरिएको कजवे

कविराज घिमिरे

हिले, साउन ३० गते । धनकुटाको हिलेबाट काठमाडौँसम्म दैनिक रुटमा चल्ने चण्डीका गाडीका चालक देवीप्रसाद दाहालले दिन बिराएर करिब छ सय किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने हुन्छ । छ सय किलोमिटरको यात्रामा उहाँलाई सबैभन्दा गाडी कुदाउन समस्या हुने खण्ड हो हिले–धनकुटा सडकखण्ड । 

धनकुटा–हिले सडकखण्ड १२ किलोमिटर मात्र छ तर उहाँलाई बाँकी सडकभन्दा यहि १२ किलोमिटर पार गर्न झन्झटिलो र अप्ठ्यारो लाग्छ । यसको कारण हो सडकको नालीमा जम्मा भएको पानी अर्कोतर्फ पठाउन सडकलाई नै होच्याइएर बनाइएको स्थान । जसलाई स्थानीय तथा सवारीचालकले ‘कजवे’ भन्ने गरेका छन् । यस्ता ‘कजवे’ मा गाडीको तल्लो भाग ठोक्किने भएकाले समस्या भएको हो । यस्ता स्थानमा गाडी ठोक्किने भएकाले निकै होसियारीपूर्वक यात्रु ओरालेर कटाउनुपर्ने हुन्छ । 

सडक आसपासका नालीको पानी कटाउन सडकमुनिबाट कलभर्ट निर्माण गर्ने गरिन्छ तर कोशी राजमार्ग अन्तर्गत धनकुटाको हिलेदेखि सङ्खुवासभाको टुटेसम्म नालीको पानी कटाउन ठाउँ ठाउँमा सडक नै होचो बनाइएको छ । त्यस्तो होचो स्थान सवारीसाधनका लागि दुर्दशा बन्ने गरेको छ । गाडी लामो र होचो भएकाले गाडीको तल्लो भाग (बडी) सडकमा ठोक्किने गरेको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, “धनकुटा–हिले खण्डमा १० वटा कजवे छन् । तीमध्ये अधिकाशंमा समस्या हुन्छ कुनैमा यात्रु ओरालेर कुदाउनु पर्छ, कुनैमा यात्रु ओराले पनि गाडी ठोकिन्छ ।” 

  हिले–धनकुटा खण्डको १२ किलोमिटरमा १० वटा ‘कजवे’ छन् । तीमध्ये आधाभन्दा बढीमा लामा, होचा सवारीसाधन बढी ठोक्किने गरेको छ । त्यस्तै धनकुटादेखि टुटेसम्मको करिब ६० किलोमिटरमा भने दुई दर्जनको हाराहारीमा रहेका छन् । ती पनि कतिपय स्थानमा भत्किएका छन् । कतिपय घुम्ती नजिकै रहेकाले पनि समस्या हुने गरेको छ । यस्ता सडकमा स्थानीय रुटमा सञ्चालित सवारीसाधनलाई कम असर भए पनि बढी लोड भएका सवारीसाधन, भ्रमणमा आउने लामा तथा होचा बडी भएका तथा साना सवारीसाधन समस्यामा पर्ने गरेका छन् ।  बढी लोड भएका सवारीसाधन त यस्ता स्थानमा बढी बिग्रने गरेको स्थानीय बासिन्दा बताउँछन् । 

 त्यसो त सडक डिभिजन कार्यालयले पनि यो समस्याको महसुस गरी अघिल्लो आर्थिक वर्षमै सात वटा ‘कजवे’ हटाएर कल्भर्ट निर्माण गर्न टेन्डर नै खुलाएको थियो । ठेक्का नलागेका कारण काम अगाडि बढ्न नसकेको तथा यो आर्थिक वर्षमा सो कामअघि बढाउने सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख कैलाशप्रसाद देवले बताउनुभयो । “हामीले पनि समस्या महसुस गरी अघिल्लै आर्थिक वर्षमा बढी समस्या भएका सात वटा ‘कजवे’ निर्माणका लागि ठेक्का आह्वान गरेका थियौँ तर ठेक्का नै परेन,” उहाँले भन्नुभयो । चालु आर्थिक वर्षमा पुनः ठेक्का खुलाएर कल्भर्ट निर्माण गर्ने उहाँको भनाइ छ । 

कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा खण्डको ५२ किलोमिटर सडक ब्रिटिस सरकारको सहयोगमा २०४२ सालमा निर्माण गरिएको थियो । जहाँ सबै स्थानमा पानी कटाउन कल्भर्ट निर्माण गरी सडकमुनिबाट पानी कटाइएको छ । त्यसपछि धनकुटा–हिले १२ किलोमिटर तथा हिले–टुटेसम्मको करिब ५० किलो मिटर सडक भने नेपाल सरकारले निर्माण गरेको थियो । त्यस सडकको माथिबाटै पानी कटाउन कजवे निर्माण गरिएको । यो कजवे अहिले सवारीसाधनको प्रमुख समस्या बन्ने गरेको छ ।