• २० असोज २०८१, आइतबार

श्रीलङ्का टापुमा कटान तीव्र

blog

वराहक्षेत्र (सुनसरी), साउन ३० गते । सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेपछि कोशीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९ मा पर्ने टापुमा कटान सुरु गरेको हो । 

कटान भएसँगै श्रीलङ्का टापुका एक दर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको स्थानीय अनिल चन्द्रवंशीले बताउनुभयो । टापुमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो । बाढीसँगै कटान तीव्र हुँदै गएको छ । अहिले एक किलोमिटरभन्दा बढी क्षेत्र कटान भइसकेको छ । कटानको जोखिममा परेको वराहक्षेत्र–९, गरैयाटोलका विश्वनाथ उराउ परिवारलाई सारिएको चन्द्रवंशीले बताउनुभयो । उहाँका अनुसार अजवलाल उराउ, कालु उराउ, रामचन्द्र उराउ, नुनु उराउ, रिजाल उराउ र दुखी तत्माको घर पनि जोखिममा परेका छन् । चिलैया र गरैया क्षेत्रमा कोशीले कटान गरिरहेको छ । 

वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीसहित सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायत जिल्लाका तीन वटै सुरक्षा निकायका प्रमुखसहितको टोली कटान क्षेत्रमा पुगेको छ । नगर प्रमुख कार्कीले स्थानीयसँग कटानको अवस्था र सुरक्षित स्थानबारे छलफल गरेको जानकारी दिनुभयो ।