अविनाश चौधरी
धनगढी, साउन २९ गते । कर्णाली नदीमा चेतावनी तह नजिक पुगेको पानीको सतह घट्न थालेको छ । आज दिउँसो २ बजे ९.७८ मिटर पुगेको पानीको सतह अब बिस्तारै घटिरहेको चिसापानीस्थित जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ३ बजेबाट घट्न सुरु भएको पानीको सतह साँझसम्म ९.६० मिटरमा झरेको छ ।
“अब कैलाली र बर्दियाको तल्लो तटीय क्षेत्रका समुदाय डराउनु पर्दैन”, उहाँले भन्नुभयो,“पानी घटिरहेको छ ।”
पहाडी क्षेत्रमा वर्षा भएपछि आज सो नदीमा बाढी आइ पानीको सतह बढेको थियो । चिसापानीस्थित जलमापन केन्द्रमा कर्णाली नदीमा पानीको सतह ९.८ मिटर पुगेमा चेतावनी तह मान्ने गरिन्छ । यसैगरी, १०.५ मिटर जलस्तर पुगेमा खतरा मानिन्छ ।
आज कर्णाली नदीमा पानीको सतह बढेपछि कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाका कर्णाली नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहनका लागि सतर्क गराइएको थियो । कर्णाली नदीमा जलस्तर बढेमा दुवै जिल्लाको ७५ गाउँ जोखिममा पर्ने गरेको छ ।