• १९ असार २०८१, बुधबार

डोटीमा लोप हुँदै कोदो

blog

दिपायल (डोटी), साउन २९ गते । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा  लोप हुँदै गएको छ । 

कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदोखेती लोप हुने अवस्थामा पुगेको हो । 

एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिकालगायतका ठाउँका किसानको मुख्य खाद्यान्न बाली कोदो थियो । अहिले कोदोखेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसान बताउँछन् ।

स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको अहिले डोटीका सीमित गाउँमा मात्र खेती गरिन्छ । रोटीका  लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै सहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । कोदोखेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको किसानको भनाइ छ ।

 बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिँदै गएका हुन् । कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि बढ्दो सहरीकरणको प्रभावले गर्दा कोदोखेती लोप हुने अवस्थामा पुगेको बडीकेदार–५ थानकोटका उपेन्द्र धामीले बताउनुभयो । 

कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि मागअनुसार जिल्लामै आपूर्ति गर्न नसकिने अवस्था रहेको बडीकेदार गाउँपालिकाको कृषि शाखाका नासु सुरेन्द्र शाहीले बताउनुभयो । अहिले सहरी क्षेत्रमा यसको अत्यधिक माग भए पनि पछिल्लो समय किसान तरकारीखेती गर्न थालेपछि  कोदोखेती लोप हुँदै गएको शाहीले बताउनुभयो ।

अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताउनुभयो । डोटीमा  २० देखि ३० प्रतिशत कोदोखेतीयोग्य जमिन भए पनि पछिल्लो समय पाँच प्रतिशतले मात्र कोदोखेती गरिरहेको  कृषि ज्ञान केन्द्रले जनाएको छ ।  रासस