• १४ मंसिर २०८१, शुक्रबार

बेनी–जोमसोम सडक पाँच दिन बन्द

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन २७ गते । बेनी–जोमसोम सडक पाँच दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैंसरीमा पहिरो रोकथाम गर्न कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम कोरला सडक आइतबार देखि बिहीबार सम्म बन्द गरिने भएको  हो । राहुघाट –तातोपानी सडक खण्डको बैंसरी खण्डमा सडक माथिबाट खसेको पहिरोले यातायात प्रभावित हुँदै आएको छ । पाँच दिन सडक बन्द गरेर पहिरो रोकथामको काम गर्न लागिएको हो । 

राहुघाट–तातोपानी खण्डमा कालोपत्रे भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गरी पहिरो रोकथामका लागि सडक बन्द गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त सडकमा माथिबाट पहिरो खस्ने समस्याको रोकथामका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडक खण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको हो । 

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि सो अवधिका लागि घुमाउने ताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गर्न लागिएको जानकारी दिनुभयो । 

दैनिक जसो सडक आवागमन अवरुद्ध हुने गरेको र धनजनको समेत क्षति हुने सम्भावना रहेको हुनाले पहिरो सुरु हुने स्थानमा एक्स्काभेटर पुर्‍याई पहिरो नियन्त्रण गर्नुपर्ने देखिएको तथा पहिरो सुरु हुने स्थानबाटै पहिरो नियन्त्रण गरी समस्याको स्थायी निराकरण गर्ने काम भइरहेकाले उक्त सडक खण्ड सो अवधिमा बन्द हुने जारी सूचनामा उल्लेख छ ।

 जिल्ला प्रशासन कार्यालय म्याग्दीले काली गण्डकी कोरिडोरको चमेरे–बेगखोला सडक खण्डमा चल्ने हलुका सवारी साधानहरुले सो समयमा चमेरे–राखूँ-पिप्लेबेगखोला सडक खण्डको वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।