• १२ मंसिर २०८१, बुधबार

नयराज पन्तलाई सम्झँदा

blog

साउन २६ गते नयराज पन्त सम्झने दिनसमेत हो । विसं १९७० साउन २६ गते उहाँको जन्म काठमाडौँको महाबौद्धमा भएको थियो । नयराज नेपालको इतिहास, ज्यौतिष एवं गणितशास्त्रका विद्वान् हुनुहुन्थ्यो ।  यी क्षेत्रहरूबाहेक संस्कृत भाषा, व्याकरण र नेपाली कविताको क्षेत्रमा पनि उहाँको राम्रैसँग कलम चलेको देखिन्छ । नयराजका अध्ययन/अनुसन्धानका विशेष क्षेत्र इतिहास र ज्यौतिष दुवै रहे । इतिहासका कुरालाई ज्यौतिषीय तिथिमितिका माध्यमले प्रमाणित गरी देखाउनु उहाँको विशेषता देखिन्छ ।

तथ्यका आधारमा सत्य भएको प्रमाणित गरेर नै उहाँले ती ती क्षेत्रका ज्ञान उत्पादन गर्नुहुन्थ्यो र बाहिर ल्याउनुहुन्थ्यो । बाहिर ल्याएर पनि कतै त्यसमा उहाँलाई पुनः शङ्का लागेमा र गलत भएको अनुभूति भएमा आत्मसंशोधनका माध्यमले पुनः परिमार्जन गर्नुहुन्थ्यो । त्यसैले नै उहाँका जुनसुकै अनुसन्धानका विषयहरू तथ्यका आधारमा प्रमाणित सत्य भएका हुन् । आधिकारिक भएका हुन् । योगी नरहरिनाथ आदि केही इतिहासकारहरूबाहेक धेरैले इतिहाससम्बन्धी गरिएका अनुसन्धान विवादास्पद देखिन्छन् । ती विवादास्पद देखिनुको प्रमुख कारण भनेको ती विषय गहिरो अध्ययन/अनुसन्धानबिना नै बाहिर ल्याउनु हो । कतिपय विषय त कुनै विदेशीहरूका विवादास्पद अनुसन्धानका आधारमा लेखिएका छन् तर नयराज पन्तले त्यसो कहिले गर्नुभएन । उहाँले त ‘पुराणमेव न साधु सर्वम्’ अर्थात् पुरानो हो भन्दैमा सबै कुरा राम्रा हुँदैनन् एवं ‘नवीनमेव न त्याज्यं सर्वम्’ अर्थात् नयाँ हो भन्दैमा सबै कुरा त्याज्य नै पनि हुँदैनन् भन्ने आधारमा नै विषयवस्तुको सत्य उद्घाटनमा निरन्तर अभ्यस्त रहनुभयो । 

कुनै पनि विषयको उहाँ गहिराइमा पुग्नु हुन्थ्यो । उहाँले सम्मानित आधिकारिक विद्वान्हरूले नै भनेका गल्ती कुरालाई पनि स्वीकार गर्नुभएन । उहाँका अनुसन्धान गरिएका पुस्तकका अगाडि नै ‘शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि’ अर्थात् शत्रुहरूको पनि गुण देख्नू त्यस्तै गुरुहरूका पनि दोष देख्नू भन्ने लोगो लागेकाले पनि ती अनुसन्धानात्मक विषयवस्तुहरू कति सत्यको समीप थिए भन्ने विषय अलिकति पनि समय अनुसन्धानमा दिइरहेका अनुसन्धाताहरूले सम्झिहाल्छन् नै । अझ ती कुराका प्रमाणका यथेष्ट उदाहरणहरू त गुरु सोमनाथ सिग्द्यालद्वारा लिखित अनुवाद चन्द्रिकामा भएका त्रुटिहरू एवं इतिहासशिरोमणि बाबुराम आचार्यद्वारा भुलवश गरिएका गल्तीहरूका सप्रमाण खण्डनहरू नै रहेका छन् । 

नयराजले अनुसन्धान गरी प्रकाशन गरिएका लेख–रचना एवं पुस्तकहरू धेरै छन् । तिनको सामान्य लेखोजोखो त जटिल विषय हो । अझ ती विषयको विश्लेषण नै गर्नु त झनै कठिन । अहिलेका कतियय विद्वान्का लागि त यस्ता काम फलामको चिउरा चपाउनु बराबर नै हो । केही समयअघि विशेष गरेर नेपाल प्रज्ञा–प्रतिष्ठानका तात्कालिक सदस्यसचिव प्राडा जगत्प्रसाद उपाध्याय एवं तात्कालिक प्राज्ञ सदस्य प्रा. दिनेशराज पन्तको विशेष पहलमा म निमित्त भई नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित नयराजका ज्यौतिषीय चिन्तनमा उहाँका गणित ज्यौतिषसम्बन्धी मुख्य मुख्य लेखहरू मात्र राखेर प्रकाशित गरियो । ती लेख ४३६ पृष्ठको पुस्तक बन्न पुग्यो । उहाँका सबै क्षेत्रका लेख रचना राखेर पुस्तक प्रकाशित गर्नुप-यो भने ठुल्ठुला ग्रन्थ बन्छ । 

नयराजले गणितज्यौतिषको क्षेत्रमा गर्नुभएका अनुसन्धान देखिसकेपछि मैले नै गत वर्ष गोरखापत्रमा प्रकाशित गरेको लेखमा उहाँलाई विक्रमको बाह्रौँ शताब्दीका महान् ज्योतिर्विद् भास्कराचार्यका पर्यायका रूपमा तुलना गर्दा केही विद्वान्हरूबाट नयराजको अलि बढी नै प्रशंसा भयो कि भनेर पनि प्रश्न गर्दै हुनुहुन्थ्यो तर उहाँहरूलाई नयराजले लेखेका विषयमा मैले केही मात्र जानकारी गराएको त उहाँहरूले नै जिभ्रो टोक्ने अवस्था आएको थियो । 

नयराजले हिन्दु सिद्धान्तज्यौतिष र ग्रिक सिद्धान्तज्यौतिषको तुलनात्मक अध्ययनको प्रकाशन धेरैलाई चुनौतीसमेत भयो । नबुझीकनै आक्षेप लगाउनेहरूको मुख बन्द नै भएको थियो । त्रिकोणमिति र रेखागणितसम्बन्धी उहाँका लेखनबाट आखिरी ज्यामिति ज्ञान त हाम्रै पुर्खाका देन रहेछन् भन्ने कुरा प्रकाशमा आयो । त्यस्तै पञ्चाङ्ग गणनाका कुरादेखि लिएर सिद्धान्तशिरोमणि जस्तो प्राचीन ज्यौतिषीय ग्रन्थ एवं सर्वानन्दकरण जस्तो आधुनिक ज्यौतिषीय पुस्तकको संशोधनसम्म उहाँले गराउनुभएको थियो । लिच्छवि संवत्को निर्णय भन्ने पुस्तकले विदेशीका कागजी नोटका आधारमा ‘येन केन प्रकारेण प्रसिद्धपुरुषो भवेत्’ भन्ने उद्देश्य लिएर असत्य कुरा बकेर हिँड्ने योजना बनाएकाहरूलाई बाधा नै पु-यायो । लगध नामका विद्वान्ले सामान्य स्थुल व्यवहारका लागि बनाएको ज्यौतिषीय सिद्धान्तमा पनि उहाँ स्पष्ट हुनुहुन्थ्यो । अहिले ज–जसले त्यो सिद्धान्त त ठ्याक्कै विष्णु भगवान्कै पाउबाट आएको हो जस्तो गरी बहकिने र बहकाउने गर्छन्, उनीहरूलाई पनि त्यस विषयमा नयराजले नै पढाउनुभएको थियो तर उहाँको जीवनकालमा ती मानिसहरू कता हराए कुन्नि तर अहिले आएर त्यस किसिमको स्थूल गणितलाई पनि के के न हो भनी गीतामुखी भएर लागेको देख्दा उनीहरूलाई भन्नका लागि कठैबाहेक अरू बढी विशेषण नै छैनन् ।

अहिले ज्यौतिषको मूल मर्म सायनसहितको निरयण पद्धति नै नबुझेका मानिसहरू नयाँ पञ्चाङ्ग चलाउनु पर्दछ भनिरहेका छन् । त्यस किसिमका कुरा उठाउने उहाँकै समयका मानिसलाई उहाँले आफ्ना लेख रचनाका माध्यमले ज्यौतिषशास्त्रको गुह्य कुरालाई प्रकाश पार्नुभएको थियो । नयराजले ज्यौतिषीय क्षेत्रमा गरेका अध्ययन/अनुसन्धान त कति छन् छन्, यहाँ लेखेर साध्य छैन । अभिलेख र इतिहासका कुरा त झन् भनीसाध्य नै छैन । संस्कृत व्याकरणदेखि संस्कृत साहित्यसम्म उहाँको बेजोड प्रतिभा थियो । त्यो बेलामा पनि उहाँ अङ्ग्रेजी भाषा पनि राम्रैसँग जान्ने र बुझ्ने हुनुहुन्थ्यो । नेपाली साहित्यमा रहेको उहाँको योगदानले त अर्को राम्रै ग्रन्थ तयार हुन जान्छ ।

मनुस्मृतिमा ‘अध्यापनं ब्रह्मयज्ञः’ भनिएको छ । अर्थात् अध्ययन÷अनुसन्धानले युक्त अध्यापनकार्य नै खासमा ब्रह्मयज्ञ हो । इतिहासमा अरू पनि विद्वान्हरू पक्कै छन् तर उनीहरूको विद्वत्ताले ब्रह्मयज्ञको रूप लिन खासै सकेको देखिँदैन तर नयराजले यी माथि बताइएका विषयहरू ‘संगच्छध्वं सवदध्वम् ...’ भन्ने वैदिक मन्त्रको मर्मका साथ आफ्ना सहकर्मी एवं शिष्यहरूको साथमा अनुसन्धान गरी बाहिर ल्याउनुभएको हो । उहाँको ब्रह्मयज्ञले नै उहाँका प्रत्येक रचनाहरू तथ्यमा आधारित सत्य हुन पुगे पनि कतिपयले मान्ने गर्छन् । यही ब्रह्मयज्ञका माध्यमले नै उहाँद्वारा निकालिएका तथ्यहरूलाई अलि गहन अध्ययन भएकाहरूले पनि प्रश्न गर्न असमर्थ हुन्छन् । 

पन्तको अर्को विशेषता भनेको तथ्यका आधारमा सत्य खोज्ने हो । कतिपय यसैलाई ब्रह्मयज्ञ मान्ने गर्छन् । अरू केही विद्वान्ले पनि सामान्य ब्रह्मयज्ञ गर्ने प्रयास त नगरेको होइन तर केही नगन्य विद्वान्हरूलाई छोडेर ती यज्ञ उही उनीहरूको जीवन निर्वाह गराउने माध्यम र उनीहरूका भ्रमका असत्य कुरा पनि सत्य र शास्त्रीय गराउन मात्र प्रयोग भए । ती यज्ञबाट गतिलो प्रसादरूपी फल निस्कन सकेन तर नयराजको ब्रह्मयज्ञबाट आएका फल ज्ञानका रूपमा उदाए । उहाँले गरेको ब्रह्मयज्ञको फल भन्नु मात्र भन्दा पनि प्रत्यक्षै देखिएकाले पृष्ठपोषण गरिरहनु आवश्यक नै छैन । अझ उहाँका ब्रह्मयज्ञका सजीव फलहरू त विद्वत्ताका प्रतीक प्राडा महेशराज पन्त, प्राडा मङ्गलदास प्रधानाङ्ग, ज्ञानमणि नेपाल, प्रा. दिनेशराज पन्त, डा. नयनाथ पौडेल, गौतमरत्न वज्राचार्य, रुक्मनाथ पौडेल आदिहरू हुनुहुन्छ; जसले ‘एकश्चन्द्रः तमो हन्ति’ भने झैँ गरेर देश–विदेशका हरेक क्षेत्रमा प्रज्ञा छरिरहनुभएको छ । 

अन्त्यमा यो छोटो समयमा आफूले गर्ने त कता हो कता हुन्छ, त्यसैले उहाँद्वारा गरिएको अभूतपूर्व सफल ब्रह्मयज्ञबाट निस्किएका प्रसादस्वरूप विभिन्न विषयहरूका उहाँका रचनाहरूको अनुसन्धानात्मक तरिकाले रसास्वादन गरौँ गराऔँ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयहरूले पनि उहाँद्वारा रचित विषयहरूलाई आफ्ना पाठ्यक्रममा समावेश गराई अनुसन्धानको क्षेत्रलाई अझै विस्तार गरौँ । उहाँको जन्मदिन गरिने कामना सार्थक हुन्छ । यो उपलक्ष्यमा उहाँद्वारा नै रचित यो पद्यका माध्यमले उहाँप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।

सच्चा नै इतिहासजन्य घटना यो देशमा फैलियून्, 

विद्यार्थीहरू पाठ्यपुस्तक पनि प्रामाणिकै नै पढून् ।

भन्ने आशयले कडा श्रम गरी यो साधना गर्दछु,

धेरैका ननिका कुराकन सही बाँचिरहेको म छु ।।

  

Author

श्याम खनाल