• १० मंसिर २०८१, सोमबार

माओवादीको रूपान्तरण

blog

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले तीनमहिने कार्ययोजना घोषणा गरेको छ। पार्टीले यसलाई ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नाम दिएको छ। गत बुधबारबाट सुरु भई आइतबार सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले नेताहरूको कार्यविभाजन गर्नुका साथै ‘विशेष रूपान्तरण’ अभियान घोषणा गरेको हो। उक्त अभियानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि सबै केन्द्रीय सदस्यले देशका प्रत्येक वडामा पुगेर जनताका भावना बुझ्ने छन्। केन्द्रीय समिति बैठकमा पार्टीको नेतृत्वमा रहेको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको विचार नै प्रधान रहे। स्वाभाविक रूपमा यो अभियानमा सरकारका काम जनतासँग स्थापित गरेर परिवर्तनको स्वामित्व लिने प्रयास हुने छ। 

प्रचण्ड नेतृत्वको सरकारले खास गरी ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पार्ने प्रकरण र तस्करीको सुन प्रकरणमा संलग्नउपरको छानबिन कारबाहीबाट जनस्तरबाटै प्रशंसा पाइरहेको छ। यो प्रशंसालाई राजनीतिक पुँजीका रूपमा प्रयोग गर्ने प्रयास मात्रै होइन; भ्रष्टाचारविरुद्धको कार्यलाई पार्टी शुद्धीकरण र रूपान्तरणसँग पनि जोड्ने प्रतिबद्धता अर्थपूर्ण छ।  नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने भन्दै पटक पटक समयबद्ध अभियान घोषणा गर्ने गरेको छ। सशस्त्र विद्रोहको बेलाका अभियानहरू विद्रोही स्वरूपकै हुन्थे। शान्तिपूर्ण राजनीतिमा (२०६२/६३) आएयता अधिकांश समय सत्तामा रहेको पार्टीको एक खालको रूपान्तरण भएकै छ तर प्रश्न सोही पार्टीभित्र उत्पन्न भइरहेको छ– रूपान्तरण कस्तो र कसको भयो ? यो पेचिलो प्रश्नको व्यावहारिक उत्तर दिन पार्टी नेतृत्व पङ्क्तिलाई सकस पर्दै छ तर नीतिसँगै अगाडि बढाइएका कार्यक्रमले जवाफ दिँदै जाने छ। खुला समाज, खुला राजनीति र वैधानिक प्रक्रिया अवलम्बन गरिएको अवस्थामा जति प्रयास गरे पनि कसैले केही लुकाइरहन सक्दैन। त्यसैले माओवादी पार्टीले आफूमाथि के कमजोरीका कारण प्रश्न र गुनासा उठेका छन् भन्ने विश्लेषण गरी सुधारको मार्गमा जानु हितकर हुने छ। 

यसो त यसअघि राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिएको बेला (२०७८) मा अध्यक्ष प्रचण्डले नै कमजोरी बढ्दै गएर सच्चिनै नसकिने गरी विचलित हुने कि कमजोरी सच्याएर क्रान्तिकारी, समाजवादी क्रान्तिको रूपमा रूपान्तरण गर्ने ? भन्ने प्रश्न उठाउनुभएको थियो। महाधिवेशनले रूपान्तरणलाई जोड दिएको थियो। त्यति खेर पनि विचार, व्यवहार, आचरण– केमा रूपान्तरण त ? भन्ने बहस चलेकै हुन्। अहिले पनि यही प्रश्न उठेको छ अनि यिनै विषयमा रूपान्तरणको आवश्यकता बोध भएको देखिन्छ। केन्द्रीय समितिको बैठकमा खास गरी जनतासँगको सम्बन्ध खुकुलो बन्दै गएको, भ्रष्टाचारमा संलग्नताको प्रश्न उठेकोबारे सदस्यहरूले छलफल गरे। त्यही छलफलपछि तीनमहिने विशेष रूपान्तरण अभियान चलाउने निष्कर्ष निकालिएको हो। यो अभियान जनतासँग जोडिने लक्ष्यमा छ; जसले भ्रष्ट आचरणलाई निषेध, भ्रष्टाचारीलाई कारबाही, सैद्धान्तिक प्रतिबद्धता अनुरूपको कार्य व्यवहारको माग गर्दछ। भ्रष्ट कम्युनिस्ट र कम्युनिस्ट भ्रष्ट हुँदैनन्, हुन सक्दैनन् भन्ने भाष्य पुनस्र्थापित गर्न विशेष रूपान्तरण अभियान सफल हुनुपर्ने छ। 

माओवादी पार्टीले जनतासँग जोडिने र सङ्गठनलाई चलायमान बनाउने भनेर विगतमा उत्पादन बिग्रेड बनाउने, पार्टी कमिटीलाई उत्पादन र श्रमसँग जोड्नेलगायतका निर्णय गरेको थियो। ती निर्णय र अभियानहरू बतासे भए। अघिल्लो महाधिवेशनका बेला पनि जनताकै बिचमा जाने भनेर 

सङ्गठन सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियान चलाउने भनिएको थियो तर माओवादीमा पनि नेताहरू सहरकेन्द्रित भएको आरोप लागेकै छ। पार्टी अध्यक्ष प्रचण्डले नै पार्टी पार्र्टी जस्तो नभएको र सच्चिन जरुरी रहेको सार्वजनिक रूपमै भन्ने गर्नुभएको छ। यस्तो पृष्ठभूमिमा अगाडि सारिएको विशेष रूपान्तरण अभियानमा जनताले नेताहरूको रूपान्तरणको परीक्षा लिन पाउने छन्। साथै नेताहरूले शान्तिपूर्ण राजनीतिमा आएपछिको आफ्नो कार्यनीतिमा कहाँ सही र कहाँ गल्ती भयो भन्ने बुझ्ने हिम्मत गर्नु पर्छ। पार्टीको विशेष रूपान्तरण अभियानकै शृङ्खलाका रूपमा केन्द्रीय समितिले अब पार्टीको विधान अधिवेशनपछि सबै प्रकारका कमिटीमा निर्वाचनकै विधि अपनाउने निर्णय गरेको छ। यति खेर केन्द्रीय समितिको बैठकमा गुटबन्दीका आशङ्का, आरोपहरू चिरिएको र एकढिक्का बनेको सन्देश दिइएको बताइए पनि हरेक पार्टीमा स्वार्थ समूहहरू र दाउपेच चलिरहन्छन् नै। त्यस सन्दर्भमा अब प्रतिस्पर्धाका आधारमा नेतृत्व निर्माण गर्ने विधि पक्कै स्वागतयोग्य हुने छ।