• १२ मंसिर २०८१, बुधबार

अझै अस्तित्व रक्षाको चुनौती

blog

आजको युग एक्काइसौँ शताब्दीको हो। यस युगमा नारी रमाउँदै गरेका छन्। उनीहरूले विचार र परिवारलाई चुनौती दिँदै जिम्मेवारी बोध गरेका छन्। विगतमा समय र परिस्थिति फरक थियो। जुन समयमा घर र परिवारको रेखदेख, लालनपालन, खानपान, घरायसी व्यवहार मिलाउनु नै उनीहरूको दैनिकी थियो। अझ पतिलाई पति परमेश्वरको दर्जामा राख्दै उनीहरूको लामो आयुको कामना गर्दै व्रत बस्ने मात्र होइन, ईश्वरसँग पतिको सुस्वास्थ्यको कामना पनि गर्दथे। 

समय परिवर्तनशील छ। आजका किशोरीलाई यो कुरा कथा जस्तो लाग्छ। आजका नारी जुन एकदमै एकल परिवारमा हुर्के बढेका हुन्छन्। उनीहरूलाई आफ्ना मातापिताले आफूले सक्दो संस्कारको व्याख्या गर्दै भरपूर सबै किसिमका सुविधा दिएर हुर्काएका हुन्छन्। त्यो नारी जो आमाको भूमिकामा हुन्छिन्, उनले पनि आफ्ना सन्तानलाई सक्दो आफूले खेपे जस्तो दुःख भोग्न नपरोस् भन्ने ख्याल गर्दै हुर्काएकी हुन्छिन्। उसलाई चाहिने शिक्षादीक्षा, लालनपालन, खानपानदेखि लिएर उसका हरेक आवश्यकताको भरसके प्रयासद्वारा पूर्ति गरिएको हुन्छ। 

जब त्यो नारी पक्का नारी भएर कसैको बुहारी, कसैको श्रीमती त कसैको काकी जस्तो भूमिकामा प्रवेश गर्छिन्, तब त्यहाँ सुरुका दिनमा त उसलाई हाँसीखुसी रमाइलो नै लाग्दै जान्छ तर बिस्तारै त्यही नारी आमाको भूमिकामा प्रवेश गर्छिन्, आफ्ना कर्तव्य निर्वाह गर्दै जान्छिन्। बिस्तारै उनको भूमिकामा परिवर्तन आउन थाल्छ। त्यो नारीले काँधमा अत्यधिक बोझको झारी बोकेर हिँडिरहेको महसुस गर्छिन्। बालबच्चा, आफ्नो कामकाजी कार्यशैलीको व्यस्तता र घर फर्केपछिको कर्तव्य दैनिकी नै हुन्छ। 

त्यस कर्तव्यलाई निर्वाह गर्दागर्दै थकान बेग्लै हुन्छ। सधैँको एउटै खालको कार्य दैनिकीका कारण उसको मानसिकता पनि थकित भएर जान्छ। सबै परिवारमा त नभनौँ, अधिकांश परिवारमा अझै पनि समय परिवर्तनसँगैको सोचाइमा परिवर्तन आइसकेको छैन। आजका नारीले आफ्नो संस्कार, संस्कृति, रीतिरिवाजको ख्याल हुँदाहुँदै पनि आफ्नो भन्ने मान्छेको सोचमा परिवर्तन नआएका कारणले निडर भएरै भूमिका निर्वाह गरिरहेका हुन्छन्। अहिलेसम्म चल्दै आएका सोचविचारको विरुद्ध देखिए पनि सकारात्मक सोचका साथ समाज परिवर्तनको दिशामा आफूलाई उन्मुख गराएको पाइन्छ। 

यही समाजमा त्यस्ता नारी पनि छन्; जो आफ्नो अस्मिता, अस्तित्व र स्वतन्त्रताप्रति सचेत भएर पनि अस्तित्व, स्वतन्त्रता र अधिकार रक्षाका लागि खुलेर अगाडि बढ्न डराउँछन्। फेरि यही समाजमा यस्ता खालका नारी पनि छन्; जो आफ्नो स्वाभिमानमा गर्व गर्छन्। आफ्नो अस्तित्व र स्वतन्त्रतालाई सकारात्मक सोचका साथ एउटा नयाँ उचाइमा उडान भर्ने हिम्मत पनि राख्छन्। यो एक्काइसौँ शताब्दीमा कसैले पनि नारीलाई दबाएर, डर, धम्की र त्रासमा राखेर, नारीको अस्मितासँग खेलिरहन सक्छु भन्ने गलत आत्मविश्वास नपाले हुन्छ।

नारी शक्तिकी खानी हो। नारीलाई परापूर्वकालदेखि नै शक्तिकी खानीका रूपमा पुज्दै आइएको छ भन्ने पनि बिर्सिनु हुँदैन। समय सँगसँगै नारी शक्तिको कथा र नारी शक्तिको स्वरूपको व्याख्या पनि गरिएको छ। जहाँ नारीलाई मान सम्मान, इज्जत, प्रतिष्ठाको विषय बनाइन्छ, त्यहाँ ईश्वरको वास हुन्छ भन्ने कुरा मनुस्मृतिमा उल्लेख गरिएको पाइन्छ। जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताले वास गर्नुहुन्छ, जहाँ नारीको पूजा हुँदैन, नारीलाई सम्मान गरिँदैन त्यहाँ गरिएका सम्पूर्ण राम्रा कर्म पनि व्यर्थ भएर जान्छ भन्ने मनुस्मृतिमा लेखिएको छ।

मनुस्मृतिलगायत अन्य ग्रन्थमा नारीको शक्ति, महìव, देनको विषयमा व्याख्या गर्ने गरेको पाइन्छ। जब एक असल नारीले आफ्नो भनेर कार्य गरिरहेकी हुन्छे, उसले आफ्नो बलबुताले भ्यायसम्म आफ्ना दुःख पीडा र आँसु लुकाएर सम्पूर्ण कुरा सम्हालिरहेकी हुन्छे। उसले कहिले हारगुहार माग्दिन। आफ्नो सहनशीलताको परीक्षामा ऊ सधैँ अब्बल नै हुन चाहन्छे। पीडा र धैर्यताको बाँध त्यति बेला छताछुल्ल हुन्छ, जति बेला उसले आफ्नो कार्यप्रति स्यावासीको अपेक्षा गरिरहेकी हुन्छे। 

उसले लुकाएको आँसु र गरेका कर्मलाई आफ्नो भनौदो मान्छे, घरपरिवार र समाजबाट लाञ्छनाको पुरस्कार पाउँछे। उसले गरेका हरेक इमानदारीपूर्ण कार्यमा जब प्रश्नवाचक चिह्न खडा हुन्छ, ऊ सकारात्मक रूपमै प्रस्तुत भई त्यसको प्रतिवाद गर्छे, गर्नु पर्छ। आजको एक्काइसौँ शताब्दीका शिक्षित र असल नारी पुरुषसरह नै समयको मूल्यलाई महत्व दिँदै घरपरिवार र समाजमा योगदान दिन लागिपरेका छन्। समय परिवर्तनशील छ। आजका नारीले समयलाई बुझेका छन्, परिवारको दायित्वलाई बुझेका छन् र अहोरात्र खटिन सक्छन्। समय र समाज बदलिँदो छ। शिक्षित जमातको भिड बढ्दो छ तैपनि समाजमा रहने मानिसको सोच फराकिलो हुन सकेको छैन। 

आज पनि हामी उही पुरानो संस्कार र मान्यतामा नै आफ्ना सन्तानलाई हुर्काइरहेका छौँ, साँघुरो सोचमा। जुन सोचाइको खातखात लागेर त्यो कुरा हाम्रा सन्ततिको मनमस्तिष्कमा बसिरहेको हुन्छ। हामीले जति नै महँगो र राम्रो शिक्षादीक्षा दिए पनि त्यो संस्कार, जसलाई म बन्धन भन्न रुचाउँछु। त्यो हाम्रो सन्ततिमा पनि देखिन्छ। जसले यो कुरा राम्ररी बुझ्नुभएको छ र सोही वातावरणमा आफ्नो सन्तानलाई हुर्काउनुभएको छ, उहाँहरूको कुरा गर्दा दुई खालका विचार र संस्कारमा हुर्किएका मानिस समाजमा हुन्छन्। 

उनीहरूको सम्बन्ध जोडिन्छ तर समय हेर्नुस्, त्यो सम्बन्ध विचार र सुझबुझको टकरावले गर्दा धेरै समय टिक्न सक्दैन। फलस्वरूप समाजमा अत्यधिक सम्बन्ध विच्छेदका मुद्दा हामी सुन्न सक्छौँ। त्यसमा पनि केटीले अंश नै नलिई गर्ने सम्बन्ध विच्छेदको मुद्दा बढ्दो छ। यसको अर्थ के लाग्छ ? सम्पत्तिका लागि सम्बन्ध विच्छेद गर्ने एउटा पक्ष र सम्पत्ति नलिई सम्बन्ध विच्छेद गर्ने अर्को पक्षलाई समाजले एउटै दृष्टिकोणबाट हेर्दा के ती नारीप्रति समाजले न्याय गर्ला ? के दुवै पक्षलाई एउटै दृष्टिकोणले हेर्नु न्यायोचित होला ?

यो सब कुरा लेखिरहँदा समाज कुन दिशामा मोडिइरहेको छ ? अबको समाजको परिकल्पना के हो ? अहिलेको समयको माग के हो ? कस्ता खालका शिक्षादीक्षा आउँदा भावी पुस्ताका लागि आवश्यक छ ? के यस्तो चिज यो समाजमा खट्कियो, जसका कारण समाजमा विचारको बेमेल भयो ? नारी शिक्षित भएर उनीहरूसँग सबै थोक हुँदाहुँदै पनि किन खुसी छैनन् ? समयसापेक्ष समयको मागलाई सम्बोधन नगर्दा कतै समाज दुर्घटनातिरको यात्रामा त छैन भन्ने जस्ता पक्षमा हाम्रो नीति बनाउने तहमा जिम्मेवारी लिएर बसेका जिम्मेवार व्यक्ति, सामाजिक अभियन्ता, त्यस्तै समाजका बुद्धिजीवीले यस विषयमा विचार मन्थन गर्न आवश्यक छ। नत्र ढिला भएपछि पछुताउनुको कुनै अर्थ हुँदैन। नारी हर क्षेत्रमा अगाडि बढिसकेका छन्। उनीहरूको सुझाव र सल्लाहबिना समाज रूपान्तरणको यात्रा अधुरो हुने छ।  


Author

सिर्जना राना