हरिबहादुर ऐडी
मुगु, साउन २२ गते । नाग्म गमगढी सडकको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आए पनि अहिलेसम्म सडक कालोपत्रे हुन सकेको छैन ।
मुगुबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसद ऐनबहादुर शाही, प्रदेश सभा सदस्य तथा तत्कालीन कर्णाली प्रदेशका पर्यटनमन्त्री जितबहादुर मल्लले नाग्मदेखि गमगढी लोगमार्गलाई स्तरोन्नति गर्न पटक पटक माग गर्दै आउनुभएको छ । सांसद शाहीले भन्नुभयो, ‘नाग्मदेखि गमगढीसम्म सडक स्तरोन्नति नहुँदा हजारौँ नागरिकलाई यातायातमा सास्ती भइरहेको छ ।’
रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत यात्रामा हैरानी भइरहेको उहाँले बताउनुभयो । सडक स्तरोन्नति नभएकै कारण गाडी दुर्घटना हुनेगरेको र सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनुपरेको उहाँले बताउनुभयो ।
साँघुरो र खाल्डाखुल्डीका कारण लोगमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि हिउँदको समयमा धुलाम्मे र बर्षातको समयमा हिलाम्मे हुनेगरेकाले यात्रुलाई मार परिरहेको स्थानीयले बताएका छन् ।
नागरिकलाई सास्ती भए पनि सडक कालोपत्रे गर्न सरकारले ध्यान नदिएको मुगमकार्मारोङ गाउँपालिका –८ का यात्रु रामसिंह रोकायाले बताउनुभयो । जिल्ला नागरिक समाजका संयोजकसमेत रहेका निवृत्त शिक्षक रूपबहादुर मल्लले नाग्म–गमगढी लोगमार्ग इन्जिनियरिङ मापदण्डअनुसार नै काम नभएको बताउनुभयो ।
सडक एक लेनको मात्र भएकाले गाडी गुडाउन समस्या हुने गरेको भन्दै त्यसलाई फराकिलो बनाएर कालोपत्रे गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, ‘सडक फराकिलो बनाउन सकिने ठाउँहरू भए पनि त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन ।’
सडक डिभिजन जुम्ला कार्यालयका सूचना अधिकारी चित्र चौलागाईंका अनुसार ३२ करोडमा नाग्म–गमगढी लोगमार्गको कालोपत्रेका लागि ६.५० किलोमिटर थोदुङ वासना जेभीले जिम्मा पाएको बताउनुभयो ।
सिंजाको रोकायावाडा खण्डमा सडक कालोपत्रेका लागि सडक चौडाइ र नालाको स्तरोन्नतिको काम भइरहेको उहाँको भनाइ छ । २०८२ सम्म ६.५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।