• १ जेठ २०८२, बिहिबार

बन्दीपुर अस्पताल एक वर्षपछि भिडियो एक्सरे सेवा पुनः सूचारु

blog

बन्दीपुर अस्पतालमा भिडियो एक्सरे सेवा प्रदान गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ १ गते ।
तनहुँको पुरानो सदरमुकाम बन्दीपुरस्थित बन्दीपुर अस्पतालमा एक वर्ष अघिदेखि बन्द भएको भिडियो एक्सरे सेवा पुनः सुरु भएको छ । रेडियोलोजिस्टले पारिश्रामिकको भुक्तानी नपाएर सेवा रोकिएको थियो ।  

अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.अनिल गिरी हाजिर भएसँगै सेवा सूचारु गरिएको हो । डा. गिरीले नै सेवा प्रदान गर्नुभएको अस्पतालले जनाएको छ । एक वर्षसम्म काम गरेको भुक्तानी नपाएपछि एक वर्ष अघिदेखि नै सेवा बन्द हुन पुग्दा बिरामी तथा गर्भवती महिलालाई बाहिर मँहगो शुल्क तिर्नु पर्ने बाध्यता भएकाले सेवा सूचारु गरिएको डा. गिरीले बताउनुभयो ।

पारिश्रामिक दिनुपर्ने दायित्व अस्पतालको भएकाले कसरी भुक्तानी दिने भन्ने बारेमा गाउँपालिकासँग छलफल भइरहेको र तत्काल सेवाग्राहीलाई असर नपरोस् भनेर सेवा सूचारु गरिएको गिरीले बताउनुभयो । डा. गिरीले भन्नुभयो, ‘‘तिर्न बाँकी रकमको व्यवस्थापन गर्ने कोसिस गरिरहेको छु, हाललाई म आफैँले भिडियो एक्सरेको सेवा प्रदान गरेको छु ।’’

अस्पतालमा वैशाख २४ गतेदेखि सुगर (मधुमेह) का बिरामीका लागि तीन महिनामा एक पटक गरिने परीक्षण सेवा पनि सुरु गरिएको छ । यस सेवाबाट मधुमेहका बिरामीहरूलाई आफ्नो स्वास्थ्यबारे जानकारी लिन सहज भएको छ ।  ३६५ दिन नै ओपिडी सेवा प्रदान गरिने व्यवस्था मिलाइएको छ । शनिबार र सार्वजनिक बिदाका दिनसमेत अस्पतालमा निःशुल्क बहिरङ्ग (ओपिडी) सेवा उपलब्ध गराइएको अस्पातलले जनाएको छ । 

अस्पतालमा हाल नियमित ओपिडी सेवा, भिडियो एक्सरे, ल्याव सेवा, दाँत तथा आँखाको उपचार सेवा दिँदै आएको छ । अस्पताले बिभिन्न वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन हुँदै आइरहेको छ । अस्पतालले वैशाख १ गते देखि ३६५ दिन नै बहिरङ्ग सेवा सूचारु गरेको थियो ।