• १ जेठ २०८२, बिहिबार

बचतकर्ताको रकम फिर्ता गर्न सहकारीको आलटाल

blog

रकम अपचलन विषयमा अनुसन्धान गर्दै प्रहरी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, जेठ १ गते ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, गोदारमा रहेको सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले बचतकर्ताको रकम फिर्ता गर्न आलटाल गरेको आरोप लाइएको छ । सहकारीका पदाधिकारीले करिब तीन सय बचतकर्ताको दुई करोड रुपियाँभन्दा बढी रकम फिर्ता गर्न आलटाल गरिरहेको आरोप पीडितहरूले लगाएका हुन् ।

स्थानीय सचिनकुमार श्रेष्ठले सहकारीका पदाधिकारीले बचत रकम, सेयर रकम तथा ऋण चुक्ता गर्दा पनि धितो नफर्काएको बताउनुभयो । उहाँले यस सहकारीमा आफूले तीन लाख रुपियाँ बचत गरेको बताउँदै पदाधिकारीले रकम फिर्ता गर्न आनाकानी गरिरहेको गुनासो सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “तीन वर्षभन्दा बढी भयो बचत अवधि सकिएको । पैसा माग्दा भोलि, पर्सी भन्छन् तर दिँदैनन् ।” सम्पर्कमा रहेका हामी सात–आठ जनाको मात्रै ३० लाख रुपियाँभन्दा बढी फिर्ता लिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय जीवछ महतोले ब्याजसहितको ऋण चुक्ता गरे पनि धितोमा राखिएको जमिन नफर्काइएको बताउनुभयो । उहाँले भन्नुभयो, “१० वर्षअघि डेढ बिघा जमिन धितो राखेर तीन लाख रुपियाँ ऋण लिएको थिएँ । त्यसको ब्याजसमेत जोडेर आठ लाख रुपियाँ सहकारीलाई बुझाइसकेको छु । रकम बुझाएको पनि आठ वर्ष भयो । तर अहिलेसम्म धितो जमिन फिर्ता गरेको छैन ।” उहाँका अनुसार यस्तो समस्या यहाँका धेरैले भोगिरहेको छ ।

अर्का बचतकर्ता सञ्जिवकुमार श्रेष्ठले सहकारीका पदाधिकारीले बचतकर्ताको रकम व्यक्तिगत काममा प्रयोग गरेको बताउनुभयो । बैमानी गर्ने नियत फिर्ता गर्न नचाहेको आरोप उहाँले बताउनुभयो । उहाँका अनुसार बचत गर्दा ब्याजसहित फिर्ता दिने आश्वासन दिइएको थियो । धितोमा आधारित ऋण प्रवाह पनि गरेको थियो । तर, खाताको अवधि पुगे पनि न व्याजसहितको रकम फिर्ता गरेको छ, न त ऋण तिरेपछि धितो नै फिर्ता गरिएको छ ।

पीडित सेवाग्राहीले आर्थिक अपचलनको भन्दै सहकारीका अध्यक्ष सीता कार्की, उपाध्यक्ष उर्मिला पासवान, कोषाध्यक्ष नमिता लामा, सचिव यशोदा घिमिरे, सदस्य प्रमिला न्यौपाने, ऋण समिति सदस्य च्यापिनीदेवी लामा, व्यवस्थापक पूर्णबहादुर समाललगायत पदाधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले ऋण समितिका सदस्य च्यापिनीदेवी लामालाई पक्राउ गरेको छ भने अन्य फरार रहेको उहाँले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जिल्लामा दिएको जाहेरीको आधारमा सहकारीका ऋण समितिका सदस्य लामालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बताउनुभयो । फरार पदाधिकारीलाई पक्राउ गर्न प्रहरीले खोजतलास गरिरहेको उहाँले जानकारी दिनुभयोे ।