• १३ असोज २०८१, आइतबार

गौरीकुण्ड पहिरो: जुम्लाको एउटै परिवारका सातसहित ११ बेपत्ताको पहिचान खुल्यो

blog

पहिरो गएको क्षेत्र र उद्धार । तस्बिर सौजन्यः सुरेन्द्र आर्य

नेत्र शाही 

जुम्ला, साउन २१ गते । भारतको उत्तराखण्डस्थित केदारनाथको गाैरीकुण्डमा गएको  पहिरोमा एउटै परिवारका सातसहित जुम्लाका ११ जना परेको खुलेको छ । पहिरोमा बेपत्ता भएका पातारासी गाउँपालिका वडा नम्बर ३ चौरगाउँका एकै परिवारका सातसहित ११ जनाको परिचय खुलेको हो । 

पातारासी गाउँपालिका वडा नम्बर २ स्थित अस्थायी प्रहरी पोष्ट इन्चार्ज प्रहरी हवल्दार नारायण थापाका अनुसार जुम्लाको पातारासी गाउँपालिका २ पेरे गाउँको एउटै परिवारका सात जनाको पहिचान खुलेको छ । ३० वर्षीय अमर बोहरा र उहाँकी श्रीमती २९ वर्षीया अनितासहित तीन छोरी र दुई छोरा बेपत्ता भएका हुन् । ११, ९ र ७ वर्षीया छोरीहरू सलिता, पिंकी, प्रीतिसँगै ४ र २ वर्षीय छोरा जटिल र ओकिल गरेर सात जना बेपत्ता भएका हुन् । 

बेपत्ता भएका अन्य व्यक्तिमा सोही गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी छन् । प्रहरीका अनुसार पातारासी ३ का ३८ वर्षीया बम बोहरा र ४६  वर्षीय सुकराम रावत बेपत्ता भएका हुन् । उनीहरू बेपत्ता भएको जानकारी पहिरो प्रभावित क्षेत्रमा रहेका चन्द्र बुढा, फुलमाया बुढा, प्रकाश कामी, शुक कामी, निरु रावत, खर्क बोहरालगायतले टेलिफोनमा दिएको प्रहरीले बताएको छ । 

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार घटना भएको थाहा पाएपछि बेपत्ता परिवारको पहिचानका लागि काम भइरहेको बताउनुभयो । 


भारतको गौरीकुण्डमा पहिरो गएको क्षेत्र र नदी ।