राजु लामिछाने
रुकुम पश्चिम, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पश्चिमबाट नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी हुनुभएको छ ।
आइतबार बिहान मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापामगरले शर्मालाई विजयी घोषणा गर्नुभएको हो । शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजु केसीलाई ४ हजार ९४८ मतान्तरले पराजित गर्नुभएको हो । कांग्रेस उम्मेदवार केसीले १६ हजार ६६१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा १४ हजार ३४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित हुनुभएको छ । २०६४ सालयता रुकुमबाट लगातार चार पटक निर्वाचित शर्माको संसदीय यात्रामा यस पटक भने पूर्णविराम लागेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले ४ हजार ७६ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार नन्दराम देवकोटालाई १ हजार ८६९ मत प्राप्त भएको छ । केन्द्रीय सहमति अनुसार एमालेले रुकुम पश्चिममा आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सघाउने निर्णय गरे तापनि एमाले उम्मेदवारको नाममा मत खसेको हो ।
त्यसैगरी, नेकपा (माओवादी) का उम्मेदवार चन्द्रबहादुर बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्काले २२८, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले १७० र उज्यालो नेपाल पार्टीका नरेन्द्र केसीले ८४ मत प्राप्त गर्नुभएको छ । उज्यालो नेपाल पार्टीले पनि जिल्लामा प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति गरेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (संयुक्त) का उम्मेदवार शेरबहादुर केसीले ५४, आम जनता पार्टीका उम्मेदवार प्रेमा दमाई नेपालीले ४५ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार धनबहादुर विकले १५ मत प्राप्त गर्नुभएको छ ।
रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६६० मतदाता रहेकामा ६२ हजार ९६८ मत खसेको थियो । जसमा महिला ३४ हजार ६०४ र पुरुष २८ हजार ३६४ जना रहेका छन् । कुल ५९ हजार ५२३ मत सदर हुँदा ३ हजार ४४५ मत बदर भएको छ ।