• १३ असोज २०८१, आइतबार

गौरीकुण्ड पहिरोमा बेपत्ताको खोजी गर्न प्रधानमन्त्री प्रचण्डद्वारा कूटनीतिक पहल

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, साउन २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागस्थित गौरीकुण्ठ पहिरोमा बेपत्ता भएका नागरिकको उद्धार र खोजका लागि कूटनीतिक पहल गर्नुभएको छ। 

शनिबार साँझ प्रधानमन्त्रीको निजी सचिवालयले सूचना सार्वजनिक गर्दै बेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल सुरु गर्नुभएको जानकारी दिएको हो। गौरीकुण्डमा गएको पहिरोमा परेर नेपाली र भारतीय नागरिक बेपत्ता भएको खबरले मर्माहत भएको उहाँले बताउनुभएको छ। प्रधानमन्त्री प्रचण्डले पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। 

‘‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको बताउनुभएको छ। उहाँले यस दुखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। बेपत्ता नागरिकहरुको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको उहाँले जानकारी गराउनुभएको छ’’, सचिवालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

यो पनि पढ्नुहोस

भारतको गौरीकुण्डमा पहिरो खस्दा १३ नेपाली बेपत्ता