पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, फागुन २४ गते । पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा तर्फको समानुपातिक मतगणना कार्य सुरु भएको छ । प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले समानुपातिकतर्फको गणनालाई अगाडि बढाएको हो ।
जिल्लाका दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलहरूमा बिहानैदेखि गणना कार्य सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणना कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा मतपेटिकाहरू खोलिएका छन् ।
निर्वाचन आयोगको निर्देशिका अनुसार गणना स्थलमा मोबाइल फोन निषेध गरिएको छ भने अधिकृतहरूको प्रत्यक्ष निगरानीमा मतपत्र रुजु गर्ने काम भइरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त मतपत्रहरूलाई क्षेत्रगत रूपमा छुट्याएर गणना गरिँदै छ । मत गणना कार्यलाई छिटो सम्पन्न गर्न थप टोलीहरू परिचालन गर्ने तयारी समेत गरिएको बुझिएको छ ।
मतगणना स्थलमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घेराभित्र रहेर गणना कार्य भइरहेको छ भने बाह्य सुरक्षामा पनि कडाइ गरिएको छ ।
प्रत्यक्षतर्फको परिणामले राजनीतिक वृत्तमा उत्साह र चासो बढाएको बेला समानुपातिकतर्फ कुन दलले कति मत ल्याउँछन् भन्नेमा सर्वसाधारण र राजनीतिक दलका कार्यकर्ताहरूको विशेष ध्यान केन्द्रित भएको छ । विशेषगरी राष्ट्रिय दलको मान्यता पाउने दौडमा रहेका दलहरूका लागि यो गणना निर्णायक मानिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार, गणनाको पछिल्लो परिणामलाई नियमित रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।