ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २४ गते । म्याग्दीमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पहिलो दल बनेको छ । गत बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिक तर्फको मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाले १९ हजार ९५७ मत प्राप्त गरी पहिलो भएको हो ।
मुख्य निर्वाचन अधिकृत एमव् जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले दिएको जानकारी अनुसार नेकपा एमालेले नौ हजार चार सय ५७, नेपाली कांंग्रेसले सात हजार पाँच सय ९४, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले चार हजार एक सय ६२ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीले एक हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले एक सय ७७ मत पाएका छन् ।
जिल्लामा जम्मा मतदाता ८८ हजार दुई सय ९८ रहेकोमा समानुपातिक तर्फ ४७ हजार ६ सय १६ मत खसेको मध्य एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मत मतगणना भएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।
प्रत्यक्ष तर्फ २२ हजार ८ सय ५० मत प्राप्त गरी स्वतन्त्र उम्मेदवार डा. महावीर पुन विजयी हुनुभएको थियो । रास्वपाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गरेको थियो । समानुपातिक तर्फको मतगणना सकिएसँगै जिल्लामा निर्वाचन सम्बन्धित सम्पूर्ण कामहरु सकिएको उहाँले बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने जिल्लास्थित राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, मतदाता, पत्रकार लगायत जिल्लावासीलाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले धन्यवाद दिनुभयो ।