राजन रावत
हुम्ला, फागुन २३ गते। हिमाली जिल्ला हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी हुनुभएको छ। मतगणना सम्पन्न हुँदा उहाँले फराकिलो मतान्तरसहित विजय हासिल गर्नुभएको हो।
मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार रोकायाले ८ हजार ७९७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार डा। दीपेन्द्र रोकायालाई १ हजार ५५४ मतान्तरले पराजित गर्नुभएको छ। डा। रोकायाले ७ हजार २४३ मत प्राप्त गर्नुभएको छ।
यसैगरी, नेकपा (एमाले) का दलबहादुर फडेराले ४ हजार ३३१ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीकी टासी लाम्जोमले १ हजार ६४ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले २४८ मत र नेकपा (माओवादी) का कुम्भ बुढाले १२८ मत प्राप्त गर्नुभएको छ। निर्वाचनमा ४१६ मत बदर भएको छ।
हुम्ला जिल्लामा एक अस्थायी केन्द्रसहित ६५ मतदान केन्द्र रहेका छन्। जिल्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो।