• १३ साउन २०८१, आइतबार

आकासियो गोलभेँडाको भाउ

blog

काठमाडौँ, साउन २० गते ।  डेढ महिनाअगाडि असार ३ गते गोलभेँडा उत्पादन किसानले गोलभेँडा प्रतिकेजीको सात/आठ रुपियाँ पनि नपाएर कालीमाटी बजारभित्रै फ्याँकेर विरोध गरे । हुन पनि गोलभेँडा प्रतिकेजी उत्पादन गर्दाको लागत ३५ रुपियाँ भन्दा बढी पर्छ ।

उपत्यकाका उत्पादक किसानले सबैभन्दा ठुलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि सडकमा फ्याँकेर विरोध गरेका थिए तर अहिले भने गोलभेँडाको भाउ अहिलेसम्मकै उच्च मूल्य प्रतिकेजी मूल्य १८० रुपियाँ थोकमै पुगेको छ । त्यस समय कालीमाटी बजारमा गोलभेँडाको मूल्य सात/आठ रुपियाँ मात्रै थियो । अहिले त्यही बजारमा गोलभेँडाको न्यूनतम मूल्य ११५ रुपियाँ र अधिकतम मूल्य १८० रुपियाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार मात्रै सानो गोलभेँडाको भाउ प्रतिकेजी ११५ रुपियाँ थोक मूल्य कायम गरिएको छ भने ठुलो गोलभेँडाको मूल्य प्रतिकेजी १८० रुपियाँ रहेको छ । यो थोक मूल्य हो । खुद्रा बजारमा गोलभेँडाको भाउ झनै मनलाग्दी छ । जसले गर्दा सर्वसाधारण उपभोक्ताले गोलभेँडा उपभोग गर्नसमेत छोडिसकेका छन् । 

यस पटक भारतमा ठुलो वर्षा भएर गोलभेँडा खेती डुबानमा परेकाले उत्पादन कम हुँदा नेपाली गोलभेँडा भारतीय बजारमा जाँदा यसको असर नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन् । कालीमाटी तरकारी व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले नेपालमा उत्पादित गोलभेँडा भारतीय बजारमा पुगेपछि स्थानीय बजारमा मूल्य आकासिएको बताउनुभयो ।

भारतमा यस पटक गोलभेँडा उत्पादन कम हुँदा काठमाडौँ उपत्यकाबाट तराई हुँदै भारत निर्यात भइरहेको भन्दै उहाँले भन्नुभयो, “एक महिना अघिसम्म भारतबाट पनि केही आउने गरेको थियो । अहिले भने उताबाट नआएर यताबाट गइरहेको छ । यसकै कारण भाउ बढेको हो ।” यो बेला गोलभेँडा उत्पादनको मौसम पनि नभएको र नेपालमा उत्पादन भएको गोलभेँडा पनि भारतीय बजारमा जान थालेपछि भाउ महँगो हुनु स्वाभाविक भएको अध्यक्ष आचार्यको भनाइ छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले उपत्यका बाहिरबाट गोलभेँडा आउने गरेकोमा अहिले बाहिर जान थालेपछि भाउ महँगो भएको जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक ६० देखि ६५ मेट्रिक टन गोलभेँडा आउने गरेकोमा अहिले ४० मेट्रिक टनमा मात्रै सीमित भएको छ ।

काठमाडौँभन्दा बाहिरै राम्रो मूल्य पाउन थालेपछि किसानले कम पठाएको उहाँको भनाइ छ । गोलभेँडा यो सिजनमा भारतबाट पनि आयात हुँदाकै अवस्थामा त यो बेलामा सामान्यतया महँगो हुने गरेकोमा अहिले त तराई र उपत्यकाकै गोलभेँडासमेत बाहिर गएको भन्ने सुनिन्छ जसले गर्दा भाउ बढेको उहाँको बुझाइ छ । कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी श्रेष्ठको अनुभवमा गोलभेँडाको भाउ अहिले जस्तो महँगो विगतका कुनै पनि वर्षमा भएको छैन । उहाँका अनुसार गोलभेँडाको भाउ धेरै महँगो हुँदा प्रतिकेजी १०० रुपियाँभन्दा माथि पुगेको पाइँदैन । गत वर्ष यही बेलामा गोलभेँडाको भाउ प्रतिकेजी ४० देखि ५० रुपियाँको पेरिफेरिमा रहेको देखिएको छ ।