• २६ वैशाख २०८१, बुधबार

चित्र बनाउन डिजिटल आर्ट

blog

भाइबहिनीहरूलाई चित्र बनाउन त पक्कै मन पर्छ । कतिपयलाई चित्रमा रङ (कलर) भर्न पनि मन पर्ला । यस्तै स्केच बनाउने, थ्रिडी पेन्टिङ गर्ने, मूर्ति बनाउने जस्ता स्वभाव अनुसार धेरै किसिमका रुचि पनि हुन सक्छ । 

चित्र बनाउन मन त पर्छ तर आफूले सोचे जस्तो चित्र भने नबन्न पनि सकिन्छ । पेन्टिङ गर्न खोजे पनि रङ नमिलेको हुन सक्छ अथवा चित्रभन्दा बाहिर पनि जान सक्छ । यसले गर्दा भाइबहिनीलाई आफूले ठ्याक्कै चाहेको जस्तो कुरा बनाउन समस्या भइरहेको हुन सक्छ । तर डिजिटल आर्टमा भने यस्तो समस्या हुँदैन । 

डिजिटल आर्ट भनेको इन्टरनेटमा आफूले चाहेका यस्तै कुरा बनाउने तरिका हो । जसरी भाइबहिनीले आफ्नो कपीमा चित्र बनाउन सक्छौ त्यसै गरी इन्टरनेटको प्रयोग गरी ल्यापटप अथवा मोबाइलमा त्यसरी नै चित्र बनाउन सकिन्छ झन् राम्रो गरी । 

भाइबहिनीहरू इन्टरनेट चलाउनेको सङ्ख्या धेरै हुँदै गएपछि अहिले इन्टरनेटमा धेरै कुरा पाउन सकिन्छ । इन्टरनेटबाटै पैसा लिने पठाउनेदेखि ठुला ठुला सफ्टवेयर बनाउनेसम्मका काम यसबाट हुन्छ । यस्तै डिजिटल आर्ट पनि इन्टरनेट चलाएर आफूले चाहेका कुरा सिर्जना गर्न सक्ने आधार हो । 

प्रविधि र कलालाई सँगै मिसाएपछि जे कुरा बन्छ त्यसलाई डिजिटल आर्ट भनिन्छ । अहिले विश्वभर डिजिटल आर्टको धेरै प्रयोग हुन थालेको छ । यो चलाउन पनि सजिलो र चाहेको जस्तो कला बनाउन सकिने भएकाले विश्वका धेरै विद्यालयमा आजकल डिजिटल आर्ट सिकाउने पनि गरिन्छ । 

भाइबहिनीहरूले पनि कहिलेकाहीँ मोबाइल चलाउने क्रममा अनलाइनबाटै चित्र बनाएको, रङ भरेको अनुभव लिएको हुनु पर्छ । अनलाइनबाटै मूर्ति बनाउन सक्ने, रेखाहरू प्रयोग गरेर अनौठा चित्र बनाउन सकिनेजस्ता कुराहरु डिजिटल आर्टभित्र पर्छन् । डिजिटल आर्टको प्रयोगले भाइबहिनीलाई आफ्नो मन पर्ने कुरालाई झन् सजिलोसँग बुझ्न र बनाउन सक्ने बनाउँछ । भाइबहिनीहरूलाई कला बनाउन सजिलो होस् भनेर धेरै वेबसाइट र एप्लिकेसनहरू पनि बनेका छन् । 


स्केच बुक, आइबिआइएस पेन्ट एक्स, मेडिब्याङ पेन्ट, पिस्कार्ट कलर त्यस्ता एप्लिकेसनका उदाहरण हुन् जहाँ भाइबहिनीहरूले सजिलै चित्र बनाउनेदेखि त्यसमा रङ् भर्ने स्केच बनाउनेसम्मका काम गर्न सक्छौँ । त्यस्तै टोय थिएटर, बोमोमो, कलर बाई नम्बर्स, पिक्सिलआर्ट केही वेबसाइटका उदाहरण हुन् जसले डिजिटल आर्ट बनाउन सहयोग गर्छन् । 

भाइबहिनीहरू आजको दिनमा इन्टरनेटमा धेरै कुरा पाइने भए पनि सबै त्यसमै भर पर्नु भने हुँदैन । चित्र बनाउन, रङ भर्न, स्केच बनाउने जस्ता भाइबहिनीको रुचिको काम इन्टरनेटबाट डिजिटल आर्टको प्रयोग गरेर सजिलै बनाउन सक्ने भए पनि त्यो आफ्नो कपीमै बनाए जस्तो भने हुँदैन । कपीमा आफूले जस्तो चित्र बनाउन सकिन्छ त्यो नै आफ्नो क्षमता हो । 

इन्टरनेटमा सजिलै त्यस्ता कुरा उपलब्ध भए पनि त्यो हेरेर मात्र त्यहाँ जस्तै कुरा साँच्चिकै बनाउन सम्भव पनि हुँदैन । यस्तो अवस्थामा डिजिटल आर्टलाई भाइबहिनीले आफूले बनाउने चित्रका लागि सहयोगीका रूपमा भने प्रयोग गर्न सक्छौँ । जस्तो के को चित्र बनाउने भन्ने कुरा नआएको बेला डिजिटल आर्टमा हेरेर त्यसको उपाय भने लिन सकिन्छ ।