• १६ भदौ २०८१, आइतबार

चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको मृत्यु

blog

घाइते नीलगाईको उद्धारपछि उपचार गर्दै पशु भेटेरिनरी डाक्टर लगायतको टिम । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, साउन १७ गते । बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको उपचारका क्रममा मङ्गलवार मृत्यु भएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिनुभयो ।

राप्ती सोनारी गाउँपालिका वडा ५, ढलैयास्थित राप्ती सब डिभिजन वन कार्यालय अन्तर्गत राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहको ब्लक नं. ५ मा चितुवाले आक्रमण गरी घाइते भएको अवस्थामा सो नीलगाई पाइएको फरेष्टर खत्रीले बताउनुभयो । उहाँका अनुसार मङ्गलवार दिउँसो उक्त नीलगाईको उद्धार गरी उपचार सुरु गरिएको थियो ।

आक्रमणमा परी घाइते भएको सो नीलगाईको जङ्गलमै पुगेर समूहका पदाधिकारी, एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका प्रतिनिधि तथा वन कर्मचारीको टोलीले उपचार सुरु गरेको र तत्पश्चात् उक्त नीलगाईलाई उद्धार गरी राप्ती सब डिभिजन वन कार्यालयमा पुर्‍याई पशु भेटेरिनरी डाक्टरले थप उपचार गर्ने क्रममा नीलगाईको मृत्यु भएको उहाँले बताउनुभयो ।

मृत्यु भएको नीलगाईलाई सब डिभिजन वन कार्यालयको परिसरमा नियमानुसार प्रक्रिया पुर्‍याई खाडल खनी गाडिएको उहाँले जानकारी गराउनुभयो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।