• १४ मंसिर २०८१, शुक्रबार

कोशीको मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापाको दाबी

blog

कोशी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गर्नुहुँदै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा । तस्बिर : गोकुल पराजुली

गोकुल पराजुली
विराटगनर, साउन १६ गते । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले गठबन्धन दलको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८  (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनसहित सरकार गठनका लागि दिनुभएको मङ्गलबार साँझ ५ बजेको समयभित्रै थापाले दाबी पेस गर्नुभएको हो ।

कांग्रेस नेता थापाले गठबन्धन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का ४७ जना सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गर्नुभएको हो ।

कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू दुई गठबन्धनमा आबद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने सम्भावना नभएपछि सरकार बनाउनकै लागि सभामुखले पदबाट राजीनामा दिएर सरकार गठन गर्न सहज वातावरण तयार पार्नुभएको हो ।

कोशी प्रदेश सभामा कायम रहेका ९३ सांसदमध्ये सरकार गठन गर्न ४७ सांसद आवश्यक पर्छ । तर कुनै पनि गठबन्धनले ४७ जना सांसदसहित बहुमत पुर्‍याउन नसकी संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल सम्मिलित सरकार गठन गर्न समस्या भएपछि सभामुखले पदबाट राजीनामा गर्नुभएको थियो ।

सभामुख गौतम माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएकाले राजीनामा पछि उक्त गठबन्धनमा आवश्यक बहुमत पुगेको हो ।

प्रदेश सभामा कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाको एक जना सांसद छन् ।