• १७ असार २०८२, मङ्गलबार

हुलाक टिकटमा चलचित्रको पोस्टर नयाँ सुरुआत हो : मन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ चलचित्र ‘आमा’ को पोस्टर हुलाक टिकटमा अङ्कित गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र  ‘आमा’ को अभिनेता तथा अभिनेत्री रहनुभएको पोस्टर हुलाक टिकटमा अङ्कित गरिनु आफैँमा इतिहास भएको बताउनुभएको छ । 

यहाँ आज प्रदर्शनी मार्गमा रहेको पुलिस क्लबको सभाहलमा चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री गुरुङले नेपाली चलचित्रको इतिहासलाई अमर बनाउने काम टिकटमा ल्याएर गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आजको दिन नेपाली चलचित्रका लागि इतिहासमा लेखिने छ । आज राष्ट्रिय चलचित्र दिवस घोषणा, चलचित्र विकास बोर्डका ३३ वटा सेवा अनलाइनबाट प्रादान गरिने गरी सुरुआत, बक्स अफिस एपको सुरुआत, नेपाली पहिलो चलचित्र ‘आमा’ को पोस्टर हुलाक टिकटमा अङ्कित हुनु आफैँमा महत्वपूर्ण कार्य हो । आजको दिनले नेपाली चलचित्रलाई नयाँ रुपमा अगाडि बढाउने विश्वास लिएको छु ।” 

मन्त्री गुरुङले नयाँ बन्ने चलचित्र ऐन सबैको भावनाअनुसार नै कार्यान्वयनमा आउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ बन्ने कानुनले चलचित्र क्षेत्रको श्रीवृद्धिमा योगदान पुगोस् भन्ने उद्देश्य हो । अहिले राष्ट्रियसभामा रहेको चलचित्र विधेयकमा छलफल भइरहेको छ, त्यो प्रतिनिधिसभामा पनि हुन्छ । आउने ऐनले सबैको भावनालाई समेट्ने हाम्रो उद्देश्य हो । हामीले यो वर्ष गर्ने कामका रुपमा चलचित्र क्षेत्रलाई व्यवस्थित बनाउने योजनाका साथमा काम गरिरहेका छौँ । चलचित्र क्षेत्र समृद्ध भयो भने सबै क्षेत्र समृद्ध हुन्छ ।” मन्त्री गुरुङले उक्त समारोहमा हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो । 

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले २५ औँ वार्षिकोत्सव मन्त्रालयसँगै बोर्डका लागि विशेष रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा चलचित्रको ६० वर्षको इतिहासलाई झल्काउने गरी आज महत्वपूर्ण घोषणा भएका छन् । हामीले पूर्वाधार र नीतिगत क्षेत्रमा गरिरहेको कामको प्रतिफल पनि हो, आज गरिएका विभिन्न घोषणाहरू नेपाल सरकार चलचित्र क्षेत्रलाई महत्वका साथ हेर्ने गरेको यसबाट पनि प्रष्टिन्छ ।”

सो अवसरमा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले चलचित्र ‘आमा’को ऐतिहासिक महत्वलाई हुलाक टिकटका माध्यमले विश्वभर पु¥याउने बताउनुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेदेखि नै योजनाबद्ध रुपमा सुरू गरिएको काम लगभग गन्तव्यमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले पदभार ग्रहण गरेदेखि गर्ने भनेको काम आठ महिनामा सकाएको छु । आउँदो दिनमा पनि यही गतिका साथ काम गर्दै चलचित्रकर्मीको मनोबल उच्च गर्ने काम गर्नेछु ।”

उहाँले बोर्डबाट चलचित्र दर्ता, चलचित्र जाँचको सिफारिसलगायत सेवा अनलाइनबाटै लिन सकिने जानकारी दिनुभयो । यसैगरी चलचित्रको व्यापारलाई पारदर्शी बनाउने उदेश्यका ‘बक्सअफिस २ सिनेपा’ नामक एपको सुरुआत गरिएको बताउनुभयो ।

“हामीले नेपालभर रहेका १६६ चलचित्र भवनलाई एपमा जोडेका छौँ । व्यापारलाई पारदर्शी बनाउँछ र निर्माता, वितरक र प्रदर्शकको सम्बन्धलाई आगामी दिनमा अझै हार्दिकता बनाउँछ । अब चलचित्र भवनमा टिकट बिक्री हुनेबित्तिकै त्यो जानकारी निर्माताले पाउनुहुनेछ”, अध्यक्ष डिसीले भन्नुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजित बाँस्कोटा, प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, वसुन्धरा भुसाल, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, महेश त्रिपाठी, दयाहाङ राई, विजय बराल, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी, बद्धि तामाङ, रवीन्द्रसिंह बानियाँ, म्याक्स दीपश खत्री, प्रदीप भट्टराई, दीपेन्द्र लामा, विराज विष्ट, गजित विष्टलगायतका चलचित्रकर्मीको उपस्थिति थियो ।