• १७ असार २०८२, मङ्गलबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

blog

जयमान बुढामगर
रुकुमपूर्व, असार १७ गते ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ तातोपानीस्थित गोरेटो बाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सोमबार साँझ जिल्ला सदरमुकाम रुकुमकोटदेखि सिस्ने–३ पोखरा जाँदै गरेको रा ३ प ४५३४ नम्बरको मोटरसाइकल सिस्ने–३ तातोपानीमा दुर्घटना हुँदा मोटरसाइकल चालक सिस्ने–३ का अन्दाजी ४५ वर्षीय दलप्रसाद सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् प्रवक्ता लालबहादुर विकले जानकारी दिनुभयो ।

मोटरसाइकलको पछाडी सवार सोही वडाकै अन्दाजी २६ वर्षीय भुपेन्द्र खत्री घाइते हुनु भएको प्रहरी निरीक्षक विकले बताउनुभयो । उहाँले घाइते खत्रीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । मृतक सुनारको पोस्टमार्टमका लागि रुकुमपूर्व अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । भने घाइते खत्रीलाई उपचारका लागि रुकुमपूर्व अस्पतालमै ल्याउन लागिएको छ ।

सिस्ने–६ धाउने स्थित झोलुङ्गे पुल तारेर गोरेटो बाटो हुँदै सोही वडाको पोखरा जाने क्रममा गोरेटो बाटोदेखि करिब दुई सय मिटर तल मोटरसाइकल खसेको हो । धाउने हुँदै पोखरा जाने सडक लामो पर्ने भएकाले मोटरसाइलकका लागि छोटो हुने भएकाले झोलुङ्गे पुल तारेर यहाँका स्थानीय वारपार गर्ने गरेका छन् । पैदलयात्राका लागि निर्माण गरिएको गोरेटो बाटोमा जोखिम मोलेरै मोटरसाइकल वारपार गर्ने गरेका हुन् ।