काठमाडौं, साउन १६ गते । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बैठक बोलाइएको जानकारी दिनुभयो । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अनिवार्य अवकाशमा जानुहुने भएकाले नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागेको हो ।
उपसभामुख रानाका अनुसार नयाँ प्रधानन्यायाधीशका लागि तीन जनाको नाम प्रस्ताव गरिएको छ । उहाँले यसबारे बैठकमा छलफल गरी नाम सिफारिस गर्ने बताउनुभयो ।
संवैधानिक व्यवस्था अनुसार असार १९ गते नै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बोलाउन ढिलाइ भएको हो ।
संविधानको धारा २८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ उल्लेख छ ।