• १४ फागुन २०८०, सोमबार

फाइभ स्टारको मेनुमा ‘कोदो’

blog

पहिला पहिला कोदोको परिकार लुकाएर खाइन्थ्यो । गरिब अर्थात् कम आयस्रोत भएका व्यक्तिले कोदो खान्छन् भन्ने मान्यता थियो । कोदो खानेलाई समाजमा हेला गरिन्थ्यो तर अहिले त्यही कोदोले फाइभ स्टार होटेलका मेनुमा स्थान लिएको छ । ठुला ठुला रेष्टुराँ, रिसोर्टमा मान्छेहरू कोदोका परिकार खोज्दै जाने गरेका छन् । 

गरिबको खानाको रूपमा हेला गर्ने र सामाजिक प्रतिष्ठासँग पनि जोडेर हेर्ने गरेको कोदोलाई सन् २०२३ भरि कोदोजन्य वर्षको रूपमा विश्वभरि मनाइरहेका छन् भने नेपालमा पनि केही वर्षदेखि साउन १५ गतेलाई कोदो दिवसका रूपमा मनाइँदै आइएको छ । 

कोदो, नेपालको धान, मकै, र गहुँपछिको चौथो महत्वपूर्ण खाद्यन्न बाली हो । यसलाई पहाडी भेगमा मकै पछाडिको दोस्रो बालीको रूपमा लिइन्छ । कागुनो, चिनो जनेलो यसै वर्गका बाली हुन् । यो विपन्न परिवारको खानाको मुख्य स्रोत हो । यसलाई कम उत्पादन हुने, रुखो, पाखो जग्गामा, आकाशे पानीको भरमा, रासायनिक मलको प्रयोगबिना सिमान्त जग्गामा खेती गरिने बालीको रूपमा लिइन्छ । यस बालीमा रोग किसानको प्रकोप कम हुन्छ । यो जलवायु अनुकूलनीय अर्गानिक र वातावरणमैत्री बाली हो । यसको बिउलाई १५ वर्षसम्म भण्डारण गरी राख्न सकिन्छ । 

खास गरी मनाङ र मुस्ताङबाहेकका सबै मध्य र उच्च पहाडी भेगका सबै जिल्लामा यसको खेती गरिन्छ । तराईको समतल भूमिमा पनि यसको खेती हुन थालेको छ । स्थानीय स्रोत र साधनबाट पनि उत्पादन गर्न सकिने यो बाली राष्ट्रिय उत्पादनको हिसाबले पाँच प्रतिशत मात्र छ । अहिलेसम्म ‘सुअन्न’ भनेर कहलिएका खाद्यान्नभन्दा अब्बल गुण कोदोमा रहेको छ । यसमा पाइने पौष्टिक पदार्थ, आइरन, औषधीय गुण आदिको गहिरो अध्ययन गर्दै प्रचार र प्रवर्धन आवश्यक छ । सिँचाइ र उर्वरताको कमी भएको स्थानमा समेत खेती हुने साथै यसको जैविक विविधताका दृष्टिले महत्व रहेकाले कोदोलाई राष्ट्रिय महत्वको बालीको रूपमा स्थापित गराउन कृषि पत्रकारको सङ्गठन अनाज र किसानको सङ्गठन राष्ट्रिय कृषक समूह महासङ्घले २०७७ देखि कोदो बहस शृङ्खलाको सुरुवात गर्दै कोदो दिवसको रूपमा मनाउन सुरुवात गरेको हो । 

जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ७० भन्दा बढी देशहरूको समर्थनमा (भारतको अगुवाइ) संयुक्त राष्ट्रसङ्घको महासभाले २०२३ लाई कोदो अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा गत वर्ष २०७७ देखि साउन १५ लाई कोदो दिवसका रूपमा मनाउन सुरु गरिएको कोदो दिवसको महत्व बढेर गएको छ । साउन १५ को दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एफएओ, कृषिसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले देशैभर विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाउन थालेका छन् ।

कोदोलाई सम्मानित बालीको रूपमा विकास गरी यसको महत्व वृद्धि गर्न सकिन्छ । राष्ट्रिय नीतिमा सम्बोधन गराई कोदोलाई मदिरा उद्योगको आधारको रूपमा विकास गर्न सकिन्छ । राष्ट्रिय कानुनमा नै सुधार गरी नेपाली ब्रान्डेड कोदोको मदिरा उत्पादन र विदेश निकासी गर्न सकिन्छ । जलवायु परिवर्तनको न्यून प्रभाव पर्ने भएकाले दीर्घकालीन कृषि बालीको रूपमा विकास गर्न सकिन्छ । यसको अध्ययन अनुसन्धान र प्रविधि विस्तार भएन । कृषक स्तरमा यस बाली प्रवर्धनका लागि उन्नत प्रविधिको पहुँच भएन । उचित मूल्य र सहज बजारीकरणको कठिनाइ रह्यो । कोदो उत्पादनका लागि सरकारको सम्बन्धित तह र निकायबाट निर्देशित उत्पादनको संस्थागत व्यवस्था हुन सकेन । भाते बजार बढ्दै गयो । कोदो खेतीले गर्ने वातावरण सन्तुलनको महत्व उजागर गरिएन । सीमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरायो । 

नेपाल–भारतबिच सहकार्य

नेपालले पनि ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली’ मूल नाराका साथ सन् २०२३ लाई कोदोजन्य वर्षको रूपमा मनाइरहेको छ । भारत–नेपालबिच कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको थियो । दुई देशबिचको कृषि सहकार्यलाई निरन्तरता दिँदै नेपालस्थित भारतीय राजदूतावासले नेपालमा सन् २०२३ को वर्षभरि नै विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाउने भएको छ । 

विश्वमै भारत सबभन्दा बढी कोदो उत्पादन गर्ने देशमा पर्छ । सन् २०२० को खाद्य तथा कृषि सङ्गठनमा उल्लेख एक तथ्याङ्क अनुसार भारतमा एक करोड २४ लाख ९० हजार मेट्रिक टन कोदो वार्षिक उत्पादन भएको थियो भने नेपालमा तीन लाख २० हजार मेट्रिक टन मात्र उत्पादन भएको थियो । कोदो उत्पादनमा भारतभन्दा चीन पनि पछाडि छ । सन् २०२० मा चीनले २३ लाख मेट्रिक टन मात्र उत्पादन गर्न सकेको थियो । भारतमा विभिन्न नौ प्रजातिका कोदो उत्पादन हुँदै आएको छ । 

जलवायु परिवर्तनको असर

बिबिसीको एक रिपोर्ट अनुसार नेपालमा यो वर्ष हिउँदमा तीन दशकयताकै औसतभन्दा निकै कम पानी परेको छ । मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई नेपालमा हिउँदयाम मान्ने गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षभरि हुने वर्षामध्ये करिब चार प्रतिशत पानी हिउँदमा पर्ने गर्छ अर्थात् हिउँदमा मात्र करिब ६० मिलिमिटर वर्षा हुने गरेको छ । यस पटक पानी नै परेनभन्दा हुन्छ । बिबिसीका अनुसार सन् २०२१–२०२२ को जनवरीदेखि फरवरीसम्म २७.१ मिलिमिटर पानी परेकोमा २०२२–२०२३ को हिउँदमा हालसम्म ०.१ मिलिमिटर पानी मात्र परेको तथ्याङ्क छ । यो सबै जलवायु परिवर्तनको प्रभाव हो । यसको सिधै असर हिउँदेबालीमा परेको छ । वर्षा नभएको कारण हिउँदे बालीलगायत गहुँ, दलहन, तेलहन बाली उत्पादनमा ह्रास आउने निश्चित रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

के छ कोदोमा ?

कृषि विज्ञ कृष्णहरि घिमिरेका अनुसार वैज्ञानिक भाषामा कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि बाली सबै कोदो वर्गमा पर्दछन् तर नेपाली भाषामा कोदो भन्नाले मसिना गोलाकार दाना हुने घाँसे परिवार अन्तर्गत पर्ने परम्परागत अन्नबाली हो । कोदो नेपालमा धान, मकै, र गहुँपछिको चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । यो खेती गर्न सजिलो र पौष्टिकाले भरिएको अन्न बाली हो । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँमा भन्दा ८.८ गुणा बढी क्याल्सियम पाइन्छ भने चामलभन्दा २.३ गुणा, मकैभन्दा ३.७ र गहुँभन्दा १.५ गुणा बढी फलाम पाइन्छ । कोदो क्याल्सियम र फस्फोरसको धनी स्रोत भएकाले गर्भवती महिलाका लागि उत्तम भोजन मानिन्छ । कोदो मधुमेह रोगीका लागि पनि फाइदाजनक हुन्छ । 

कोदो पोष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । यो थोरै खाएर पनि पेट भरिने र धेरै पोषण प्राप्त गर्न सकिने हुन्छ । यसमा असाध्यै धेरै पौष्टिक तत्व हुन्छ । खाद्य तथा पौष्टिक सुरक्षामा ठुलो योगदान गर्दछ । रेसा र शरीरलाई चाहिने क्याल्सियम, फसफोरस, फलाम, लवन, अमिनो एसिडलगायत खाद्य पदार्थ पाइने हुनाले मधुमेह, एनिमिया, हड्डी बलियो बनाउने, मुटु तथा रगतको मात्रा बढाउनलाई औषधीय वस्तुको रूपमा प्रयोग भएको पाइन्छ । यसले रगतमा बोसो र कोलेस्टरोलको मात्रा घटाउँछ । जाडो याममा कोदो खानाले चिसोबाट बचाउन र सर्दी हटाउन यो उपयोगी हुन्छ । कोदोलाई हिमालयन सुपर फुड (हिमालयन सर्वोउत्तम खाना) को रूपमा चिनिन्छ । नेपालका आदिवासी जनजाति समुदायमा चाडपर्व तथा पुजाआजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा प्रयोग हुने भएकाले यसको सांस्कृतिक महत्व रहेको छ । पशुका लागि समेत यो महत्वपूर्ण आहार हो ।

कोदो सुक्खा सहन सक्ने र वर्षे बाली पनि भएकोले यसलाई सामान्यतया सिँचाइको आवश्यकता पर्दैन । लामो समयसम्म खेडरी परेमा वा जमिन निकै सुक्खा छ भने जरा लाग्दैन । गाँज हाल्ने र फूल फुल्ने बोलामा सिँचाइ दिँदा बालीको उत्पादनमा वृद्धि हुने देखिएको छ । सञ्चित बालीले पानीका साथ मलखाद पनि बढी प्राप्त गर्छन् । कोदो बालीमा पानी जम्न नदिने गरी निकासको व्यवस्था गर्न जरुरी छ । 

कोदो मात्र यस्तो अन्न हो, जसलाई किराले पनि असर गर्दैन । यसको विशेषता नै हो कि लामो समय भण्डारण गरेर राख्न सकिन्छ । कोदोलाई चिसो र सुक्खा ठाउँमा राख्न सकियो भने धेरै वर्षसम्म बिग्रिँदैन । कोदो खेती गर्दा कडा परिश्रम गर्नु पर्छ ।